काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा आफ्नो पार्टीले प्रतिकूलतालाई चिर्दै उच्च मनोबलसहित अघि बढ्ने बताएका छन्।
छोटो समय र तयारीका बाबजुद पनि स्थानीय तहको निर्वाचनमा सम्मानजनक उपस्तिथि हुने भन्दै थापाले स्थानीय तह निर्वाचनमा होमिन नेताहरुलाई आग्रह गरे।
बुधबार केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको, भ्रष्टाचार डरलाग्दो रुपमा अनियन्त्रित ढंगले बढेको, धर्मपरिवर्तनको डढेलो लागेको बेलामा वैकल्पिक मार्गचित्र आवश्यक भएकोले राप्रपा नेपाल पुनर्जागृत गर्नुपरेको बताए।
विशिष्ट परिस्थितिका कारण राप्रपा नेपाललाई अघि बढाउनु आवश्यक भएकोले कार्यकर्ता र जनतालाई स्पष्ट पार्नुपर्ने समेत थापाले बताए। 'जनताको माझमा गएर विश्वास आर्जन गर्नुको विकल्प नभएकोले हामी सबै जनताको माझमा जान ढिलाइ गर्नु हुन्न', थापाले भने।
भ्रमहरुलाई चिर्दै अघि बढ्न थापाले नेताहरूलाई आग्रह गरे। बैठकमा सचिवालय सम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेका थिए भने स्थानीय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वाचन सम्बन्धी पार्टीको घोषणापत्रका विषयमा प्रवक्ता सुरेश आचार्यले आफ्नो प्रस्तुति दिएका थिए।
बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो आफ्नो जिल्लाको सांगठानिक अवस्था र चुनावी तयारीबारे जानकारी गराएका थिए। घोषणा पत्र र चुनाव चिह्न सार्वजनिक गर्न आगामी चैत्र २५ गते काठमाडौंमा कार्यक्रम आयोजना गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।