काठमाडौं- धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमाले बने। मंगलबार माओवादी केन्द्रमै फर्किएको विज्ञप्ति जारी गरे र बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगेर आत्मालोचना गरे।
एमाले प्रवेशको विषयलाई उनले आफूभित्र आएको क्षणिक आक्रोश र आवेगको रुपमा अर्थ्याएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै डल्लाकोटीले भनेका छन्, 'म भित्र क्षणिक आक्रोश र आवेगमा आइ राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गइ समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रुपमा आत्मालोचना गर्न चाहन्छु र आगामी दिनमा नेपाल कम्यनिस्ट पार्टी (माओवादी केन्द्र) मा रही पार्टीको निर्णयअनुसार निरन्तर क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।'

चुनावको मौसमी 'फ्लु'बाट ग्रसित भएर अर्को पार्टीमा पुग्ने वा पुर्याइने र फेरि पुरानै अवस्थामा फर्किने उनी एक्ला होइनन्। देशव्यापी रुपमा त्यो क्रम चलिरहेको छ।
केही मोहले तानेर 'पित्त'बहादुरहरु अर्को पार्टीमा पुग्छन् र फेरि अर्को कुराले प्रभाव पारेपछि उनीहरुको 'चित्त' फेरिन्छ। चुनावमा एक पार्टीबाट अर्कोमा जाने आउने मात्रै होइन, उनीहरुले गर्ने बहानामा पनि अजबका देखिन्छन्।
कसैले भाङधतुरोले बेहोस भएका बेला भनेका छन् भने कतिले रक्सीले मातेका बेला प्रवेश गरेको बताएका छन्।
होली खेल्न जाँदा पार्टी प्रवेश गराएको आरोप
एमाले प्युठानको फेसबुक पेजबाट चैत ३ गते प्यूठान नगरपालिका ७ बाट शमशेर नेपाली, भरत नेपाली, विजय नेपाली तथा गोविन्द थापालगायत ६७ जना युवाहरू नेकपा एमाले प्युठानमा पार्टी प्रवेश गरेको सार्वजनिक भएको थियो।
नवप्रवेशीहरूलाई एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इञ्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश सांसद तथा प्युठान सह इञ्चार्ज हरिप्रसाद रिजाल लगायतले स्वागत गरिएको भनिएको थियो। तर, ती युवाहरुले भने होली मनाउन बोलाएर पार्टी प्रवेश गरेको बताउँदै आफूहरु पार्टी प्रवेश नगरेको बताएका थिए।

शिवजीको प्रसादले पार्टी प्रवेश
नेकपा मावादी केन्द्रका दोलखाको कालिन्चोक गाउँपलिकाका वाइसिएलका अध्यक्ष शिवरात्रीको अवसरमा एमाले प्रवेश गरे।
त्यसको भोलिपल्ट उनको विज्ञप्ति आयो, 'महाशिवरात्रीको दिन शिवजीको प्रसाद भनी भाङधतुरो खुवाएर बेहोशीमा माला र अबीर लगाएर पार्टी प्रवेश गराइयो। म माओवादी केन्द्रमै रहेको जानकारी गराउँछु।'

कुलो समिति भनेर पार्टीमा
गत फागुन २६ गते दाङको तुलसीपुर उपमहानगरपालका वडा नं १० का केही व्यक्तिहरुको एमाले प्रवेश गरेको प्रचार भयो। त्यसको केही दिनपछि अर्थात् चैत १ गते उनीहरुले विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरे।
त्यो खण्डनमा भनिएको थियो, 'राइखलियान कुलोको समिति भनेर हामीलाई बोलाइयो र सामाजिक सञ्जालमा टोल कमिटी भनेर प्रचार गरियो।'

रक्सी खुवाएर पार्टी प्रवेश
फागुन ६ गते डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रणबहादुर नेपाली त्यहाँ भएको एक कार्यक्रममा एमाले प्रवेश गरे।
एमालेले त्यसको प्रचार गर्न नपाउँदै उनले भोलिपल्ट विज्ञप्ति जारी गरे। उनी विज्ञप्तिमा भन्छ्न्, 'मलाई एमालेका केही स्थानीय कार्यकर्ताले रक्सी खुवाई जवर्जस्ती कार्यक्रममा लगी जुठो परेको अवस्था रङ अबीर दलेर एमालेमा प्रवेश गराए।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।