काठमाडौं– दक्षिण भारतीय अभिनेता थालापति विजयको आगामी फिल्म ‘बिस्ट’लाई कुवेत सरकारले प्रतिबन्ध गरेको छ। सञ्चारमाध्यममा आएका रिपोर्टका अनुसार फिल्ममा देखाइएका विभिन्न दृश्यका कारण यसलाई कुवेतमा प्रतिबन्ध लगाइएको हो।
कुवेत सरकारले फिल्ममा इस्लाम धर्म र मानिसलाई आतंकवादसँग जोडेर देखाइएका केही दृश्यहरु भएको कारण देखाउँदै यसलाई प्रतिबन्ध लगाएको हो। फिल्म आफ्नो देश र देशका नागरिकहरुको हितको विपक्षमा भएको बताउँदै प्रतिबन्ध लगाएको हो।
विजयको फिल्मलाई कुवेतजस्ता खाडी मुलुकमा प्रतिबन्ध लगाएको यो पहिलो पटक भने होइन। यसअघि उनको फिल्म ‘होस्टेज थ्रिलर’लाई पनि विभिन्न देशमा प्रतिबन्ध लगाइएको थियो। फिल्ममा देखाइएको आतंकवाद र आतंकवादको ठेगानाको रुपमा खाडी मुलुकलाई देखाएका कारण फिल्मलाई खाडीका विभिन्न देशमा प्रतिबन्ध लगाइएको थियो।
विजयको आगामी फिल्म ‘बिस्ट’ वैशाख १ बाट प्रदर्शनमा आउँदै छ। सोही दिन प्रदर्शनमा आउन लागेको कन्नड भाषाको बहुप्रतिक्षित फिल्म ‘केजीएफ २’सँग फिल्मले भिडन्त गर्दै छ।
कुल १५० करोडको बजेटमा निर्माण भएको यो फिल्ममा विजयसँगै पूजा हेगडे र सेल्वा राधवन मुख्य भूमिकामा छन्। फिल्मलाई दिलीपकुमारले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।