काठमाडौं– दुई वर्षअघि नै निर्माणको घोषणा भएको फिल्म ‘के घर के डेरा’लाई दीपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन्। ‘पशुपतिप्रसाद’, ‘आमा’जस्ता प्रभावशाली फिल्मको निर्देशन गरिसकेका खनालले फिल्मको निर्देशन गर्ने घोषणा गरेका हुन्।
‘ए प्लस इन्टरटेन्मेन्ट’को प्रस्तुति रहेको फिल्म दुई वर्षअघि नै निर्माणको घोषणा भएको थियो। त्यत्तिबेला सुब्रतराज आचार्यको निर्देशनमा बन्ने घोषणा भएपनि विविध कारणले फिल्म निर्माण हुन सकेको थिएन। दुई वर्षपछि फिल्ममा निर्देशन दीपेन्द्र के खनाल जोडिएका छन्। अब उनको निर्देशनमा बन्ने फिल्म वैशाखको तेस्रो साताबाट छायांकन सुरु हुने बताइएको छ।
फिल्ममा दयाहाङ राई, विपीन कार्की, रवीन्द्र झा, वर्षा राउतलगायतको कलाकारको अभिनय रहेको छ। हास्यव्यंग्य र सामाजिक विषयवस्तु समेटिएको फिल्ममा डेरामा बस्ने घर नभएका र डेरा लगाउने घर भएकाहरु दुवै वर्गको कथालाई समेटिएको निर्देशन खनालले जनाएका छन्। फिल्मको सम्पूर्ण छायांकन काठमाडौमै हुने बताइएको छ।
फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद रहेको छ। फिल्ममा लगानी भने शरद श्रेष्ठ, राजिव श्रेष्ठ र किरण महर्जनको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।