काठमाडौं– नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मत परिणाम आउन थालेको छ। मंगलबार साँझको पछिल्लो अपडेटमा अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरले ७७७ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिष्पर्धी विष्णुमणि अधिकारीले ३७२ मत पाएका छन्।
अध्यक्षका प्रत्यासी अधिकारी घिमिरेभन्दा ४०५ मतले पछाडि परेका छन्।
यस्तै, महासचिवमा अञ्जिता खनाल ६९७ मत सहित अगाडि छन् भने केदार प्रसाद कोइरालाले ४४३ मत प्राप्त गरेका छन्।
कानुन व्यवसायीहरुको छाता संगठन बारको नयाँ नेतृत्व चयनका लागि यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो। सबै स्थानको मतपेटिका सोमबार काठमाडौं केन्द्रमा आइपुगेको थियो।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा सात हजार ४२९ मत खसेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिइन्।
नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा भएको छ। उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।
बारमा अध्यक्षका लागि व्यतिगत रूपमा र समूहगतरूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ। संसद्मा प्रतिनिधि नभएका साना राजनीतिक दलसम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गरेका छन्।
कानुन अध्ययन समाज नेपाल समूहबाट अनिता जोघारीलेको उम्मेदवारी परेको छ। व्यक्तिगतरूपमा उत्तमबहादुर श्रेष्ठ र कमलप्रसाद मलेगाले अध्यक्षको उम्मेदवारी दिएका छन्। संसद्मा प्रतिनिधि नभएका साना राजनीतिक दलसम्बद्ध समूहबाट अमितालक्ष्मी सैजू श्रेष्ठले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसम्बद्ध समूहको नेतृत्व उद्धवचन्द्र घिमिरेले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।