काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाएका छन्।
पर्वत सदरमुकाम कुश्माबजारमा मंगलबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी अध्यक्ष लिङ्देनले यी तीन ठूला दल नामले फरक भए पनि विचारका हिसाबले फरक नभएको आरोप लगाएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै उनले समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग आग्रह गरे।
आगामी स्थानीय तहको निर्वाचनमा उपयुक्त वातावरण बनेमा गठबन्धन बनाएर जान सकिने उनको भनाइ थियो।
स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला एवम् वृद्धवृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।