काठमाडौं- देशभर अनावश्यक रुपमा भ्युटावर बनाएर जनताको करको दुरुपयोग भएको चर्चा भइरहेको बेलामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भने त्यस्ता भ्युटावरहरु सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको बताएका छन्।
एमालेको सामाजिक सेवा केन्द्रको घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले भ्युटावर हरु पर्यटनका स्थलहरु भएको बताए। त्यसले आन्तरिक पर्यटन र बाह्य पर्यटनलाई समेत आकर्षित गर्ने उनको भनाइ छ।
'केही गर्ने क्षमता नभएका, केही गर्ने योजना नभएकाहरुले विकास निर्माणका कामहरु गर्दा पनि आलोचना गर्छन्, विरोध गर्छन्। अहिले एक खालको लहर चलाएका छन्, भ्युटावर को विरोधी', ओलीले आलोचना गरे।
ओलीले मलेसियामा महाथिरले ट्विन टावर बनाउँदा र अमेरिकामा भ्युटावर बनाउँदा पनि विरोध भएको बताए। 'त्यो बनाएका बेला महाथिर पागल भयो कि क्या हो, यो गरिब देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्युटावर बनायो भन्ने ठूलो आलोचना थियो। त्यो भ्युटावर , अहिले हामीलाई कसैले मलेसिया देखाउँदाखेर यसो जोडिएको दुईटा टावर देखाउँछन्। मलेसियाको व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्युटावर हो', उनको तर्क थियो।
आइतबारकै एक कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले पार्टीका उम्मेदवारहरुलाई भ्युटावर नबनाउने प्रतिज्ञा गर्न दिएको सुझावप्रति पनि ओलीले व्यंग्य गरे। 'केही मान्छे बुझ्दैनन् र के भन्छन् भने, अब उनीहरुको पार्टीको नाम लिएर, हाम्रो पार्टीले यो भ्युटावर बनाउन्न भनेर अब कसम खानुपर्ने छ। प्रतिज्ञा गर्नुपर्ने छ। धर्म भाक्नुपर्ने छ भन्दै हिँड्छन्', उनको भनाइ छ।
आइतबार तनहुँको बन्दिपुरमा 'सिमलटार खानेपानी आयोजना'को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भनेका थिए- 'म नेपाली कांग्रेसका साथीहरुलाई विनम्र आग्रह गर्न चाहन्छु। तपाईंहरुले वडा र गाउँपालिकाको घोषणापत्र त बनाउनुहुन्छ। हामी भ्युटावर बनाउँदैनौ भनेर प्रतिज्ञा गर्नुस्। भ्युटावर बनाउँदा जति खर्च लाग्छ, त्यो खर्च अस्पताल, स्कुलमा खर्च गर्नुभयो भने त्यो नै हाम्रो लागि अत्यन्त राम्रो हुन्छ भन्ने लाग्छ।'
ओलीले केही दिनअघि आफ्नो पार्टीको सरकार नबनेको भए 'भ्युटावर ' बनाउने सोच नआउने बताएका थिए। 'एमालेको सरकार बन्दैनथ्यो भने यतिको भ्युटावर बनाउने र यहाँ लिफ्ट राख्ने सोच साधारणयता भन्ने हो भने आउने थिएन। किनभने विकास सम्बन्धी अवधारणा आएको हुनाले त्यो अवधारणालाई अगाडि बढाउँदा स्वभाविक रुपमा यी कुराहरु भए', गत मंगलबार तिलोत्तमा नगरपालिकाको व्यवसायिक बहुउद्देश्यीय भवन (भ्युटावर ) उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।