काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्। ५० सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका उनी आइतबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्।
त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण अत्यन्त सकारात्मक भएको बताए। 'यो बीचमा कोभिडका कारणबाट यस्ता उच्चस्तरीय भ्रमण भइरहेका थिएनन्', उनले भने, 'नेपाल-भारतको सम्बन्ध बहुआयामिक छ। घनिष्ठ छ, मैत्रीपूर्ण छ, तर बहुआयामिक पनि छ। त्यसैले नेपाल-भारतबीच भएका आपसी हितका बारेमा बडो खुलेर छलफल भयो। त्यो नै ठूलो उपलब्धि हो।'
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विभिन्न महत्त्वपूर्ण भेटका साथै सम्झौताहरुमा हस्ताक्षर भएको छ। उनले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै भेट गरेका थिए। साथै प्रतिनिधिमण्डलस्तरीय भेट पनि भएको थियो। त्यसै क्रममा विभिन्न चार वटा सम्झौताहरुमा हस्ताक्षर भएको हो।
देउवा र मोदीले संयुक्त रुपमा केही आयोजनाहरुको उद्घाटन समेत गरे। उनीहरुबीच सीमा समस्यादेखि पञ्जेश्वर परियोजनाका विषयमा समेत छलफल भएको छ। तर, इपीजी प्रतिवेदन बुझ्ने विषय, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि नदिमा खस्न पुगेका जयसिंह धामीदेखि भारतले नेपाली भूमिसमेतलाई जोडेर बनाउँदै गरेको बाटो, नक्सादेखि पछिल्लो समय बनाउँदै गरेको बाँध लगायतका विषयमा भने विषय केन्द्रित छलफल भएन।
देउवासहितको टोली भारतीय जनता पार्टीको मुख्यालयमै पुगेको विषयको पनि नेपालमा आलोचना भयो। अर्कोतिर, बनारसको भ्रमण र पूजाअर्चनालाई पनि नेपालमा धेरैले 'हिन्दू कूटनीति'को रुपमा अर्थ्याए। प्रधानमन्त्री सहितको टोली आइतबार बिहान बनारस पुगेर पूजाअर्जना गरेको थियो।
के-के भयो तीन दिनमा?
चैत १८/शुक्रबार
प्रधानमन्त्री देउवा चैत १८ गते दिउँसो १:२५ मा दिल्ली प्रस्थान गरेका हुन्। उनको भ्रमण टोलीमा पत्नी आरजु राणा; परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव; नौ जना सचिव, उद्योगी, व्यवसायी, सञ्चारकर्मी गरी ५० जनाको टोली थियो।
प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणलगायतले बिदाइ गरेका थिए। दिल्ली प्रधान गर्नुअघि देउवाले कार्यवाहक प्रधानमन्त्री खाण र कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए।
उनी करिब साढे ३ बजेतिर इन्दिरागान्धी विमानस्थल ओर्लिएका थिए। त्यहाँ उनलाई भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए। विमानस्थलबाट प्रधानमन्त्री देउवा नयाँ दिल्लीको चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा पुगेका थिए। विमानस्थलदेखि होटलसम्मको सडक किनारमा देउवाको तस्बिर अंकित ब्यानर राखेर स्वागत गरिएको थियो। साथै, देउवाको सवारीको बेला सडक खालि गराइएको थियो।
होटल आईसीटी मौर्यमै उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका थिए। भेटपछि जयशंकरले ट्विट गर्दै भनेका थिए- नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको राजकीय भ्रमणको दौरान उनीसँग भेट गरेर प्रशन्न भएको छु। मलाई विश्वास छ, यो भ्रमणले हाम्रो घनिष्ठ छिमेकी सम्बन्धलाई अझ बलियो बनाउने छ।
जयशंकरसँगको भेटपछि प्रधानमन्त्री देउवा पण्डित दिनदयाल उपाध्याय मार्गमा रहेको भारतीय जनता पार्टीको मुख्यालय पुगेका थिए। त्यहाँ उनलाई भाजपाका अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए। त्यहाँ पनि देउवाले न्यानो स्वागत पाएका थिए। प्रधानमन्त्री देउवा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष जेपी नड्डाको तस्बिर राखेर ‘नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई हार्दिक अभिनन्दन’ लेखिएको बोर्ड पनि राखिएको थियो।
देउवाले भारतको विपक्षी पार्टी कांग्रेस आईका नेताहरुलाई भेट्ने कार्यक्रम नराखिएको, तर भाजपाको भने मुख्यालयमै पुगेको घटनाले नेपालमा आलोचना गरियो। जस्तो पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले फेसबुकमा लेखेका छन्- 'सम्माननीय प्रम देउवाले भारतमा दुइटा नयाँ कुरा गरिसक्नुभयो। पहिलो उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन। दोस्रो, उहाँले बीजेपीको नेता भेट्न पार्टी अफिसमै जानुभयो। मेरो प्रश्नः के मित्रता कायम गर्न 'लम्पसार' नै हुनुपर्छ र? आफ्नो मर्यादा आफैंले राख्ने कि नराख्ने?'
त्यस्तै पूर्वमन्त्री तथा एमाले नेता भीम रावलले पनि ट्विटरमा लेखे- 'शेरबहादुर देउवाको भारत भ्रमण प्रमको हैसियतले हो कि, नेकां सभापतिको? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो?'
परराष्ट्रमन्त्री नारायण खड्काले भने प्रधानमन्त्री देउवा प्रधानमन्त्रीको रुपमा नभइ कांग्रेस सभापतिको रुपमा भाजपा मुख्यालय गएको बताए। आइतबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेसले अन्य विभिन्न देशका पार्टीसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको स्मरण गराउँदै भने- 'भारतीय जनता पार्टीको कार्यालयमा उहाँ (देउवा) प्रधानमन्त्रीको हिसाबले जानुभएको होइन। उहाँ सभापति भएको नाताले पार्टी-टु-पार्टी सम्बन्धलाई विस्तार गर्न र कायम गर्नका लागि बीजेपीको हेडक्वार्टर जानुभएको हो।'
साँझ भारतका लागि नेपाली राजदूत शंकर शर्माले प्रधानमन्त्री देउवाको स्वागतमा दिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा उनी सरिक भए।
चैत १९/ शनिबार
प्रधानमन्त्री देउवाले भारत भ्रमणको दोस्रो दिनको सुरुवात नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर गरेका थिए। पत्नी आरजु राणासहित गएका देउवाले गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेका थिए।
शनिबारको अर्को महत्त्वपूर्ण कार्यक्रमअन्तर्गत उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरे। बिहान साढे ११ बजे दुई देशका प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेट भएको हो। त्यहाँ उनीहरुले भेटवार्तामा दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने बारेमा छलफल गरेका थिए। त्यससँगै नेपाल र भारतबीच विभिन्न क्षेत्रमा भइरहेको सहयोगलाई थप विस्तार गर्ने उपायहरुको बारेमा पनि उनीहरुले विचार आदनप्रदान गरेका थिए।
दुई प्रधानमन्त्रीबीच भेट भइरहँदाको फोटोलाई लिएर पनि नेपाली पक्षको आलोचना भएको छ। फोटोमा भारतको तर्फबाट 'नोट टेकर (?)' राखेको देखिन्छ भने नेपालको तर्फबाट राखिएको छैन। यस्ता भेटघाटको संस्थागत स्मृतिका लागि 'नोट टेकर' राख्ने मान्यता भएपनि नेपाली पक्षले बेवास्ता गर्दै आएको पाइन्छ। नेपालको सोही शैलीलाई जोडेर आलोचना भएको हो। तर, परराष्ट्रमन्त्री खड्काले यसको पनि प्रतिवाद गरे। उनले ती व्यक्ति 'नोट टेकर' नभएर अनुवादक मात्रै भएको बताए। उनले आफूहरुले आवश्यक टिपोट गरेको बताए।
दुई प्रधानमन्त्रीको भेटपछि नेपाल र भारतका प्रतिनिधिमण्डलबीच हैदरावाद हाउसमै छलफल भएको थियो। त्यहाँ विभिन्न चार वटा सम्झौता भएका थिए। जसमा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान छन्।
प्रतिनिधिमण्डलस्तरीय भेटपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो। जसमा सर्वप्रथम केही आयोजनाहरुको उद्घाटन गरिएको थियो।
सर्वप्रथम, दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा बटम थिचेर जयनगर (भारत)–कुर्था (नेपाल) रेल सेवाको उद्घाटन गरेका थिए। उनीहरुले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थातर्फ रेल अघि बढेको थियो। त्यस्तै, उनीहरुले संयुक्त रुपमा बटम थिचेर १३२ केभीको ९० किलोमिटर लामो सोलु कोरिडोर प्रशारण लाइनको पनि उद्घाटन गरेका थिए। त्यस्तै, उनीहरुले संयुक्त रुपमा 'रुपे' डिजिटल कार्डको नेपालमा प्रयोगको शुभारम्भ पनि परे। त्यस्तै, नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण हुँदै गएका १३२ स्वास्थ्यचौकीको प्रगतिको भिडिओ हेरेका थिए।
त्यसपछि, दुई पक्षबीच भएका चार सम्झौताहरु आदानप्रदान गरिएको थियो। यो कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले सम्बोधन गरेका थिए। सुरुवातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका थिए।
मोदीले देउवा भारतको पुरानो मित्र भएको बताए। 'प्रधानमन्त्रीको रुपमा उहाँको यो पाँचौँ भ्रमण हो। भारत-नेपाल सम्बन्धको विकासका लागि देउवाजीको महत्त्वपूर्ण भूमिका छ', उनले भने।
उनले नेपाल-भारत सम्बन्धको पनि चर्चा गरेका थिए। उनले अनादि कालदेखि नेपाल र भारत एक अर्काका दुःखसुखका साथी रहेको पनि बताए। उनले भेटमा प्रधानमन्त्री देउवासँग विभिन्न विषयमा सार्थक कुराकानी भएको बताए। 'हामीले पञ्चेश्वर परियोजनामा तीव्र गतिमा अगाडि बढ्ने विषयलाई जोड दियौँ। यो परियोजना यो क्षेत्रको विकासका लागि एक गेमचेन्जर सिद्ध हुनेछ', मोदीको भनाइ थियो।
मोदीपछि प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए। उनले मोदीसँग सीमा समस्याको विषयमा कुरा गरेको बताए। 'हामीले सीमा समस्याको विषयमा छलफल गर्यौँ। मैले मोदीजीलाई स्थापित र दुई पक्षीय संयन्त्रबाट सीमा समस्या समाधान गर्न आग्रह गरेँ', प्रेस सम्मेलनमा प्रधानमन्त्री देउवाले भने।
त्यस्तै, उनले थप तीनवटा हवाई रुट दिन आग्रह गरेको पनि बताए। उनले महेन्द्रनगर, नेपालगंज र जनकपुर हवाई रुट उपलब्ध गराउन अनुरोध गरेका हुन्। भेटमा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विषय पनि उठाएका हुन्। देउवाले मोदीलाई नेपाल भ्रमणको पनि निम्तो दिए। दुई पक्षीय उच्चस्तरीय भ्रमणले साझा सहमति निर्माणमा सहयोग पुर्याउने उनको भनाइ थियो। 'म मोदीजीलाई नेपाल भ्रमणको निम्तो दिन्छु', उनले भने।
देउवाले पनि पञ्चेश्वर परियोजनाको प्रसंग निकालेका थिए। उनले आफूहरुले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको बारेमा छलफल गरेको भन्दै सो परियोजना नेपाल-भारतको हाइड्रोपावर विकासका सम्बन्धमा 'माइलस्टोन' हुने बताए।
संयुक्त पत्रकार सम्मेलनमा देउवाले आफूहरुबीच सीमा समस्याको विषयमा कुरा भएको बताए पनि मोदीले भने त्यसबारे केही भनेका थिएनन्। तर, प्रधानमन्त्री देउवाको उच्चस्तरीय भेटवार्तामा भएका प्रगतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृङ्गलाले भने दुई प्रधानमन्त्रीबीच सीमा समस्याको विषयमा पनि छलफल भएको बताए। यस विषयलाई जिम्मेवारपूर्ण ढंगले छलफल गर्नुपर्ने भन्दै राजनीतिक बनाउनुहुँदैन भन्ने सहमति रहेको उनको भनाइ थियो। तर भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने यो विषय उल्लेख छैन।
नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने यो विषय उल्लेख गरिएको छ। शनिबार जारी विज्ञप्तिमा भनिएको छ- ‘दुई प्रधानमन्त्रीहरूले सीमाका विषयमा कुराकानी गर्नुभएको छ। नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई स्थापित द्विपक्षीय संयन्त्रहरूबाट सीमाका विषय समाधान गर्न आग्रह गर्नुभएको छ।’
आफ्नो सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री देउवा सहभागी भएका थिए।
शनिबारै दिउँसो प्रधानमन्त्री देउवाले भारतका बहुराष्ट्रिय कम्पनीका सीईओहरुसँग अन्तर्क्रिया गरे। भारतको कन्फिडरेसन अफ इन्डियन इन्ड्रस्ट्रिज (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा लगानी गर्न आग्रह गरेका थिए। सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताएका थिए।
चैत २०/आइतबार
प्रधानमन्त्री देउवाले तेस्रो दिनको भ्रमणको सुरुवात बिहान उत्तर प्रदेशको बनारसमा पुगेर गरेका थिए। पत्नी आरजु राणासहित परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव पनि बनारस पुगेका थिए। उनीहरुलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले स्वागत गरेका थिए। देउवाको स्वागतको लागि ठाउँठाउँमा होडिङ बोर्ड राखिएका थिए, जसमा देउवा र मोदी तथा देउवा र आदित्यनाथको तस्बिर थिए।
देउवाले त्यहाँ काशी विश्वनाथ मन्दिर, समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पूजाअर्चना तथा भ्रमण गरेका थिए। त्यस्तै, बनारसस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरे। नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो। नेपाल सरकारले वृद्धाश्रमका निम्ति १ करोड विनियोजन गरेको छ।
प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आइतबार दिवाभोजको आयोजना गरेका थिए। प्रधानमन्त्री देउवा र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श समेत भएको थियो।
देउवा बनारसबाट दिउँसो दिल्ली फर्किएका थिए। दिल्लीमा केही समय बिताएर उनी स्वदेश प्रस्थान गरेका थिए। उनी पौने ८ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थल अवतरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।