काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेका छन्। तीनदिने भारत भ्रमणको क्रममा शनिबार भारतको कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा उनले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यबिना समृद्ध नहुने बताए। प्रधानमन्त्री देउवाले त्यसका लागि आफूले लगानी वातावरण बनाउने बताए।
सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए।
पछिल्ला वर्षहरूमा भारतीय लगानी घटिरहेको बताउँदै उनले यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ, त्यसका लागि आफूहरू तयार रहेको जानकारी दिए।
सो अवसरमा अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताए।
कार्यक्रममा सीआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताउँदै नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए।
सीआईआईको ऊर्जा संयन्त्रले नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।