काठमाडौं– ‘भाइलेन्स, भाइलेन्स, भाइलेन्स! आइ डन्ट लाइक भाइलेन्स। आइ अभोइड। बट भाइलेन्स लाइक्स मी।’ केजीएफ–२ को यो 'डायलग' अहिले निकै चर्चामा छ। फिल्ममा अभिनय गर्ने र यो संवाद बोल्ने अभिनेता हुन् दक्षिण भारतीय कलाकार यश। संवादबाटै थाहा हुन्छ फिल्म एक्सनले भरिएको छ। फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यो डालयग चर्चामा छ। उस्तै चर्चामा छन् फिल्मका मुख्य अभिनेता यश।
केजिएफ–२ एक कन्नड एक्सन फिल्म हो। फिल्मको पहिलो भाग ‘केजिएफ’ सन् २०१८ मा कन्नड र हिन्दीसँगै अन्य भाषामा पनि सार्वजनिक भएको थियो। फिल्मको दोस्रो भाग केजिएफ–२ मा यशसँगै सञ्जय दत्त, प्रकाश राज र रवीना टण्डनको मुख्य भूमिकामा छन्।
यश अहिले चर्चामा रहेका अभिनेता हुन्। तर, उनको जीवन फिल्मको कथाजस्तै स्पष्ट छैन। उनको जीवनमा केही भावुकता छन्, केही दुःखहरु छन्। असफलता र दुःखपछि प्राप्त भएको सुखले भरिएको छ उनको जिन्दगी। घरबाट भागेर हिँडेका उनी दक्षिण भारतीय फिल्म क्षेत्रकै सुपरस्टार बनेका छन्।
यशले हालसालै दिएको एक अन्तर्वार्तामा आफ्नो जीवनको कथा बताएका छन्। ‘फिल्म कम्पेनियन’ नामक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘जब म फिल्म क्षेत्रमा सुरुवाती दिनमा संघर्ष गरिरहेको थिएँ, तब मलाई आफू कुन पृष्ठभूमिबाट आएको छु भन्ने कुराले कुनै फरक पार्छ जस्तो लाग्दैन थियो। कहाँबाट आएको, कुन पृष्ठभूमि हो भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ जस्तो लाग्दैन। आफ्नो काममा सबै कुरा निर्भर हुन्छ। दर्शक तपाईंको कामसँग कति जोडिन सक्छन् भन्ने कुराले फरक पार्छ।’
बाबुको चाहना विपरीत कलाकारितामा
यशको यात्रा नवीनकुमार गौडाको रुपमा भएको थियो। तर, ‘बलिउड हंगामा’को अन्तर्वार्तामा यो नामबाट बोलाउँदा उनले आफ्नो पहिलो प्रतिक्रिया ‘त्यो को हो? भन्ने हुन्छ' भनेका थिए। यशलाई यो नामले निकै कम मान्छेले मात्रै चिन्छन्।
यश सामान्य परिवारबाट आएका हुन्। उनले ‘द न्युज मिनेट’सँगको अन्तर्वार्तामा आफ्नो बुबा बैंलोर महानगर (बीएमटीसी) को बस चालक भएको बताएका छन्। बुबाले उनी सरकारी अधिकारी बनोस् भन्ने चाहन्थे। तर, उनलाई अरु नै विषयमा रुची थियो। नाटक र नृत्य प्रतियोगिताहरुमा भाग लिन्थे। ती कार्यक्रममा बज्ने सिटी र तालीले उनीभित्र हुर्किरहेको एक कलाकारलाई उर्जा दिन्थे।
यशका अनुसार उनी बाल्यकालबाटै कलाकार बन्न चाहन्थे। नाटक र नृत्य प्रतियोगिताहरुमा भाग लिन्थे। दर्शक खुसी भएर ताली र सिठ्ठी बजाएको उनलाई मन पर्थ्यो। जब दर्शकले यस्तो गर्थे, यशलाई लाग्थ्यो– म हिरो हुँ।
उनी घरबाट भागेर हिरो बन्नकै लागि बेंगलुरु गएका थिए। तर, त्यहाँ पहिलो पाइला राख्न साथ उनी डराए। उनको खल्तीमा ३०० रुपैयाँ मात्र थियो। घर फर्किने कुरा सोच्न पनि सक्दैन थिए। किनकि, घर फर्किएको भए उनलाई फेरि हिरो बन्न पठाउने थिएनन्।
उनलाई संघर्ष गर्न कुनै डर थिएन। त्यसैले बेंगलुरुमा थिएटरमा 'ब्याक स्टेज' काम गर्न थाले। फिल्म क्षेत्रमा पनि उनको संघर्ष चलिरहेको थियो।
यशको फिल्मी दुनियाँमा आफ्नो करिअर सुरुवात सन् २००८ मा भएको थियो। उनले कन्नड फिल्म ‘मोगिना मनासु’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। उक्त फिल्मका लागि यशलाई उत्कृष्ट सहायक अभिनेताको फिल्म फेयर अवार्ड मिलेको थियो। त्यसपछि उनले अभिनय गरेका ‘राजधानी’, ‘मास्टरपीस’जस्ता फिल्म लोकप्रिय भएका थिए।
यशको विवाह अभिनेत्री राधिका पण्डितसँग भएको छ। राधिका र यशले एक अन्तर्वार्तामा केही वर्षको प्रेम सम्बन्धपछि विवाह गरेको बताएका छन्। उनीहरुले आफूहरु एकअर्काकै लागि बनेको महसुस भएसँगै विवाह गरेको पनि बताएका छन्। हाल उनीहरुका दुई सन्तान छ।
बलिउडमा काम गर्ने इच्छा
दक्षिण भारतीय फिल्ममा निकै सफलता हासिल गरिसकेका यशलाई बलिउडमा पनि केही कलाकारसँग काम गर्ने इच्छा भएको बताएका छन्। उनले विभिन्न अन्तर्वार्ताहरुमा आफूलाई नवाजुद्दीन सिद्दिकीसँग काम गर्ने इच्छा भएको बताएका छन्। त्यसबाहेक उनी बलिउडका बादशाह शाहरुख खानलाई आफ्नो प्रेरणा मान्छन्। अमिताभ बच्चनलाई भने ‘जेन्टलमेन’ भन्ने गर्छन्।
यशले आफ्नो पुरानो एक अन्तर्वातामा आफू गाँउबाट आएर पनि फिल्ममा सफलता पाएकाले दर्शकले मन पराउने बताएका छन्। उनी आफ्नो अभिनेता बन्ने यात्रालाई सबै दर्शकले आफूसँग जोडेर हेर्न सक्ने भएको बताउँछन्।
बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।