काठमाडौं– २०७४ सालको स्थानीय तह निर्वाचनमा जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले कान्तिका सेजुवाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गर्दा पार्टीभित्रकै धेरैले चित्त बुझाएका थिएनन्। ‘महिलाले मुख्य पदमा जित्न सक्दैनन्’ भन्नेहरू पनि थिए।
उनका अन्य तीनै जना प्रतिश्पर्धी पुरुष थिए। तर, सेजुवाल भने जित्नेमा निश्चिन्त थइन्। त्यहीअनुसार मिहिनेत पनि गरेकी थिइन्। यद्यपि, उनी जित्नका लागि मात्र उम्मेदवार बनेकी थिइन्। चन्दननाथ नगरपालिकाको मुहार फेर्न चाहन्थिन्।
उनलाई जनताले पत्याए। उनले दुई हजार ८०६ मत ल्याएर जित हासिल गरिन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का शान्तिलाल महतले दुई हजार ६६ मत पाए। उनी कर्णाली प्रदेशकै एक जना मात्र पालिका प्रमुख हुन्।
सेजुवालको राजनीतिक यात्रा त्यतिमा मात्र रोकिएन। मेयरको हैसियतमा सफलतापूर्वक गरेका कामहरूबाट उनी उत्साहित थिइन्। राजनीतिमा अरु ठूलो दायरमा सक्रिय हुने सोच बनाइन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भइन्।
उनी मेयर निर्वाचित हुँदा नयाँ संविधानअनुसार स्थानीय तहमा पहिलो पटक नेतृत्व आएको थियो। त्यसैले पहिलो वर्ष त सिक्ने र बुझ्ने गर्दा नै समय बितेको उनको अनुभव छ।
कर्मचारी समायोजनले पनि समस्या बनाएको उनले बताइन्। निर्वाचित भएको तेस्रो वर्षदेखि त कोरोना महामारी सुरु भइहाल्यो। त्यति बेला नागरिकको ज्यान बचाउन व्यवस्थापनमा निकै संघर्ष गर्नु परेको उनी बताउँछिन्। त्यति बेला क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाउन निकै खटिनु परेको उनको भनाइ छ।
‘कोभिड संक्रमितलाई उत्साह जगाउन र अन्य नागरिकलाई सचेत बनाउन घरघर गएर कोशेली झोला वितरण गरेका थियौँ,’ उनले भनिन्, ‘त्यसपछि पनि स्वास्थ्य सेवा व्यवस्थापन र खोपका लागि मिहिनेत गरेका हौँ। अहिले चन्दननाथका सबै नागरिकलाई खोप दिएका छौँ।’
मेयर निर्वाचित भइसकेपछि आफूले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि र सामाजिक सुरक्षामा केन्द्रित रहेर काम गरेको उनी बताउँछिन्। ‘कर्णाली पूर्वाधारमा पछि छ। जुम्लामा पनि ठूला पूर्वाधार छैनन्। शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि पहिला पूर्वाधारमै काम गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘दुर्गमको नगरपालिका भएको हुनाले बजेट कम हुन्छ। तर, त्यसको सदुपयोग हुँदा धेरै काम गर्न सकिन्छ भनेर हामीले देखाएका छौँ।’
पूर्वाधार विकास
चन्दननाथ नगरपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरेको छ। नगरपालिकाका १० वटै वडा अहिले सडक सञ्जालमा जोडिएका छन्।
त्यति मात्र नभइ दुई वटा जलविद्युत आयोजना पनि सञ्चालन गरिएको छ। ती आयोजनाबाट २०० किलोवाट विद्युत उत्पादन हुन्छ। जुम्लामा केन्द्रीय प्रसारण लाइन गत साउनमा मात्र पुगेको हो। ११ केभी प्रसारण लाइन पुगेकाले त्यसले जुम्लाको माग धान्न नसक्ने नगरपालिकाले जनाएको छ।
चन्दननाथ नगरपालिकाबाट मुगुको रारा ताल जाने ‘पर्यटक मार्ग’को ट्रयाक खोलिएको छ। यो मार्गले कर्णालीकै पर्यटन विकासमा टेवा दिने उनी बताउँछिन्।
स्वास्थ्य क्षेत्रमा सुधार
नगरपालिकाले नौ वटा स्वास्थ्य संस्था स्थापना गरेको छ। तीमध्ये एउटा बर्थिङ सेन्टरसहितको सामुदायिक स्वास्थ्य चौकी, तीनवटा हेल्थ पोष्ट र एउटा सहरी स्वास्थ्य क्लिनिक छन्। यो क्षेत्रमा सुरक्षित सुत्केरी सेवा नहुँदा धेरै महिलाले ज्यान गुमाउनु परेको कारण उक्त समस्या कम गर्न नगरपालिकाले काम गरिरहेको उनी बताउँछिन्।
उनले स्थास्थ्य संस्थाका पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेकी छिन्। तीन वटा स्वास्थ्य संस्थाका आफ्नै भवन छन्।
एकल महिलालाई कृषिका लागि बाँझो जग्गा
जुम्ला कृषिमा आत्मनिर्भर छैन। यहाँको उत्पादनले तीन महिना पनि खान पुग्दैन। रोजगारीका क्रममा भारत र खाडी मुुलुक जानेको संख्या बढ्दो छ। नगरपालिकाले उत्पादन बढाउन कृषिमा अनुदान दिने नीति लिएको छ। कृषकलाई ओखर र स्याउका करिब ३५ हजार बिरुवा वितरण गरिएको सेजुवालले बताइन्।
जुम्ला स्याउका लागी राम्रो सम्भावना भएको ठाउँ हो। तर, यहाँका स्याउले बजार नपाउँदा बोटमा कुहिएर जाने गरेको किसानको गुनासो छ। जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज र काठमाडौंसम्म जान थालेको र अब निर्यातलाई सहज बनाइने उनले बताइन्।
नगरपालिकाले महिला उद्यमीलाई विशेष प्रोत्साहन गरेको छ। एकल महिलाको लागी बाँझो जग्गा वितरण गरिएको छ। जग्गा बाँझो राख्ने व्यक्तिहरूसँग सहकार्य गरेर १० जनालाई यसरी कृषिका लागि दिइएको उनले जानकारी दिइन्।
यहाँका अधिकांश नागरिकले कृषिसँगै पशुपालन गर्ने गरेका छन्। नगरपालिकाले कृषकलाई अनुदानमा भैँसी र बाख्रा वितरण गरेको छ। मेयर सेजुवालका अनुसार २० वटा भैँसी, दुई वटा राँगा र महिला कृषकलाई ३०० वटा बाख्रा वितरण गरिएको छ। अति विपन्न नागरिकलाई भेडा पनि वितरण गरिएको छ।
नमूना विद्यालय निर्माण
नगरपालिकामा १९ वटा सामुदायिक विद्यालय छन्। तीमध्ये दुई वटालाई नमूना बनाइएको छ। अरु दुई वटा नमूना बन्ने क्रममा छन्।
‘यो नगरपालिका शिक्षा क्षेत्रमा निकै पछाडि छ। सबैले निजी विद्यालयमा पढाउन सक्दैनन्,’ उनले भनिन्, ‘सामुदायिक विद्यालय गुणस्तरीय नभएको गुनासो धेरै आएपछि हामीले तिनलाई नमूना बनाउने अभियान नै चलाएका छौँ।’
महिलालाई चुनौती र अवसर
महिला भएकै कारण जनताले काममा विश्वास गर्न समय लागेको उनी बताउँछिन्। ‘महिला भन्ने बित्तिकै काम गर्न सक्दैनन् भन्ने मानसिकता छ, मैले काम गरेर देखाएर त्यस्तो मानसिकता केही भए पनि बदल्न योगदान गरेको छु,’ उनले भनिन्।
महिला वा पुरुषले काम गर्ने भन्दा पनि प्रणाली बलियो बनाउनुपर्ने उनी बताउँछिन्। महिलामाथि संरचनागत विभेद भइरहेकाले त्यसलाई बदल्न पनि बलियो प्रणाली बनाउनु परेको उनको भनाइ छ। ‘महिलाहरूले गर्न सक्दैनन् वा हुँदैन भनेर कतै लेखिएको छैन। समाजको संरचना नै पितृसत्तात्मक भएकाले विभेद गरिएको छ। सुरुमा महिलालाई विश्वास गर्ने वातावरण नै थिएन। अहिले त्यस्तो सोच थोरै भए पनि परिवर्तन भएको छ,’ उनले भनिन्।
आफूलाई महिला मात्र नभइ सबैले सहयोग गरेकै कारण सफलता हात पारेको उनी बताउँछिन्। बरु फरकफरक पार्टीबाट आएका जनप्रतिनिधि भएको हुँदा बहुमतीय प्रणालीबाट निर्णय गनु परेको हुनाले त्यसले केही अप्ठ्यारो भएको उनको भनाइ छ।
अबको निर्वाचनमा महिला सहभागिता उत्साहजनक हुने उनको आँकलन छ। ‘जसरी अघिल्लो निर्वाचनमा उपमेयर, उपाध्यक्षमा सीमित राख्ने कोसिस भयो र उक्त पद महिलाकै लागि भन्ने गरी काम भयो, अबको निर्वाचनमा त्यो संभव छैन,’ उनले भनिन्, ‘अहिले देशभर १८ वटा स्थानीय तहमा महिला प्रमुख छन्। अब यो संख्या बढ्छ।’ यसपटक ‘उप’ भएरै भए पनि महिलाले राजनीति बुझ्ने राम्रो मौका पाएको उनले बतइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।