नेपालगञ्ज- बर्दियाको गुलरियामा हिन्दु र मुस्लिम पक्षबीचको झडपपछि उत्पन्न तनाव साम्य पार्न सद्भाव र्याली निकालिएको छ।
गुलरिया नगरपालिका ११ लालपुरमा हिन्दुहरुको दुर्गा भवानीको मूर्ति र मुस्लिमहरुको मोहर्रमको ताजिया सेलाउने क्रममा दुई पक्षबीच गत १६ गते झडप भएको थियो। दुवै समुदायबीच सद्भाव, एकता र मेलमिलाप कायम गर्न हिन्दु-मुस्लिम अगुवा, स्थानीय बासिन्दा र प्रहरी प्रशासनको संयुक्त प्रयासमा आज बिहान सद्भाव र्याली निकालिएको हो। दशैंको समय भएको झडपले तनावग्रस्त बनेको लालपुरको अवस्था भने साम्य हुँदै गएको छ।
गत १६ गते साँझको झडपपछि स्थितिलाई थप तनावग्रस्त हुन नदिन स्थानीय प्रशासनले लालपुरदेखि ५ सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर क्षेत्रमा १७ गतेदेखि १८ गते बिहान ९ बजेसम्म कर्फ्यु लगाएको थियो।
दुर्गा भवानीको मूर्ति तथा मुस्लिमहरुको ताजिया विर्सजनमा निस्केका दुवै समूहबीच बाटोको साइड दिने क्रममा विवाद बढेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १ सेल अश्रुग्यास प्रहार गर्नुका साथै ४ राउन्ड हवाइ फायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।