काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले नेपाली सेनालाई हिमाल सरसफाइमा सघाउने भएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सेनाको ‘सफा हिमाल’ अभियानमा साथ दिने भएको हो।
नेपाल लाइफले यस अभियानमा हुने खर्चमा सेनालाई सहयोग गर्ने जनाएको छ। यो सहकार्यका लागि बिहीबार कम्पनीले नेपाली सेनासँग आर्थिक सहयोगसम्बन्धी सम्झौता गरेको छ।
नेपालमा पर्वतारोहणका लागि खुला हिमाल (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले भइरहेको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान सञ्चालन गरिएको इन्योरेन्सले जनाएको छ।
नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैर–सरकारी संघ÷संस्था, सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरुबाट सफा हिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताए।
नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले विश्वमानचित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ, सफा र सुन्दर देशका रुपमा परिचय कायम गर्न सहयोग पुग्ने गरी ‘सफा हिमाल अभियान २०२२’ मा हातेमालो गरेको बताए।
इन्स्योरेन्सका तर्फबाट चौधरी र नेपाली सेनाका तर्फबाट खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।