काठमाडौं- बीबीसी मास्टर सेफको रि-म्याच विजेता सेफ सन्तोष शाहले तयार गरेको कुक बुक 'ऐला' अन्तर्गत रहेको नेपाली खानाको ७ कोर्स मेनुलाई बिहीबार अनुभवी नेपाली सेफहरुले 'प्लेटिङ' गरेका छन्।
ललितपुरको सातदोबाटो स्थित आइएचएम कलेजमा आयोजित एक विशेष कार्यक्रममा व्यावसायिक सेफहरुले 'ऐला'मा समावेश नेपाली खानाका परिकारलाई ७ कोर्समा राखेर पस्किएका हुन्।
कलेजको ५औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा ग्लोबल नेप्लीज सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको 'आलिदेखि थालीसम्म'को अभियानसँग परिमार्जन गर्दै नेपाली मौलिक खानाहरुको मेनुलाई सेफ जित मोक्तान, मिथिला खानाका अभियन्ता सेफ महेश साह तथा आइएचएम कलेजका सेफहरुले मौलिक तथा 'फ्युजन कन्सेप्ट'मा पस्किए।
७ कोर्स मेनुमा स्टाटरमा आलुचप सागवाला, सुपमा आसल र लौकीको तातो झोल, माछाको परिकारमा माछा तरुवा, पहिलो मेनुकोर्स 'ननभेज' खसी पक्कुसँग गोलभेडा भात र कडी करी , दोस्रो मेनुकोर्समा 'भेज' कटहर पोलेकोसँग कागुनो र सिस्नो आलु, डेजर्टमा तराई मालपुवा र रब्रि तथा बेभरेजमा मसला टिलाई तयार गरि प्रदर्शन गरिएको थियो।
सेफ एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम लामा, जिएनसिएफका महासचिव मोहन गजुरेल, सुनसरी अध्यक्ष प्रेम तुम्बापो, कलेजका एकेडेमिक डाइरेक्टर सेफ विकास डंगोलले प्रस्तुत नेपाली मौलिक खानामाथि समीक्षा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।