काठमाडौं– नयाँ वर्षको उपलक्ष्यमा नेपाली सिनेमा हलमा अनमोल केसी र सुहाना थापाको अभिनय रहेको फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शन हुँदै छ।
झरना थापाको निर्देशनमा बनेको यो फिल्म नेपाली दर्शकले लामो समयदेखि प्रतिक्षा गरेको फिल्म हो। फिल्मका निर्माता तथा निर्देशकसँगै यो क्षेत्रका सम्पूर्णले फिल्ममाथि आश पनि गरेका छन्।
सोही दिन नेपाली सिनेमा हलमा दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ पनि प्रदर्शन हुने भएको छ। दक्षिण भारतीय सुरपस्टार याशको अभिनय रहेको फिल्मको पहिलो भाग निकै चर्चित बनेको थियो। केही वर्षअघि सार्वजनिक भएको फिल्मको पहिलो भागमा याश कोलार खुन खानीसम्म पुगेको कथा देखाइएको छ भने दोस्रो भागमा त्यसपछिको कथालाई निरन्तरता दिइएको छ।
वैशाख १ मा यी दुई फिल्मबीच नेपाली सिनेमा हलमा भिडन्त हुने भएको छ। त्यसो त नेपाली सिनेमा हलमा हिन्दी वा भारतीय फिल्मको प्रदर्शन हुँदा निर्माता तथा निर्देशकले नै फिल्मलाई पछि सार्ने गरेका थिए। केही महिनाअघि अल्लु अर्जुन अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा’ प्रदर्शनमा आउँदा अर्जुन कुमारको निर्माणमा बनेको नेपाली फिल्म ‘चपली हाइट ३’लाई पछि सारिएको थियो।
तर, ‘ए मेरो हजुर ४’को निर्माण पक्ष भने आफ्नो फिल्म चल्नेमा ढुक्क देखिएको छ। फिल्मको प्रचारपसारका लागि आयोजित कार्यक्रममा फिल्मका कलाकारदेखि निर्माण पक्षले पनि आफ्नो फिल्म सोही दिन प्रदर्शन हुने र राम्रो व्यापार गर्ने विश्वास व्यक्त गरेका छन्।
फिल्म चल्छ वा छल्दैन, त्यो त प्रदर्शन भएपनि नै थाहा हुन्छ। तर, स्मरण रहोस, याशको अभिनय रहेको ‘केजीएफ’को पहिलो भागले सिनेमा हलमा निकै राम्रो व्यापार गरेको थियो भने दोस्रो भागले पनि सोही सरहको व्यापार गर्ने पक्का देखिएको छ। दोस्रो भागमा बलिउड अभिनेता सञ्जय दत्त पनि भएकाले नेपाली दर्शकले यो फिल्मलाई थप रुचाउन सक्ने सम्भावना बढि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।