सम्पदा पुनर्निर्माण र जिर्णोद्धारमा अब्बल ठहरिएको भक्तपुर नगरपालिका एउटा मन्दिरको पुनर्निर्माणमा भने ‘चिप्लिन’ लागेको छ। विवादको बीच उक्त मन्दिर पुनर्निमाण त भयो, तर यहाँ राख्नुपर्ने दुई वटा ‘उड्ने सिंह’ फिर्ता भएनन्। उड्ने सिंहका मूर्ति भक्तपुर नगरबासीले नै फिर्ता नगरेका हुन्।
यसको अर्थ भक्तपुर नगरपालिकाले कामै नगरेको भन्ने होइन। यहाँका ५५ भ्mयाले दरबार, पाँचतले मन्दिर, भैरव मन्दिर, बत्सला मन्दिर, केदारनाथ मन्दिरलगायत धेरै सम्पदा लागत अनुमानभन्दा ४५ प्रतिशतसम्म कम खर्चमा बनेका छन्। मल्लकालपछि जीर्ण बनेको र ५० वर्षदेखि सेनाको कब्जामा रहेको ‘न्हु पुखु’ भनिने रानीपोखरी पुनर्निर्माण गरेर पानी भरिएको छ। यो रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष जेठो हो। भक्तपुर नगरपालिकाले यस्ता धेरै काम गरेको छ।
यत्रो ख्याति कमाएको नगरपालिका ‘छुद्र राजनीतिक खेल’ले गर्दा शिलु महादेव मन्दिरको पुनर्निर्माण गराउन भने पछाडि परेको छ। सुरुमा यो पुनर्निर्माणका लागि मन्दिरको शैलीमा नै विवाद थियो। पछि पुरातत्व विभागले ग्रन्थकुट अर्थात् शिखरशैलीमा मन्दिर बनायो। तर, बाहिरी चारै भित्ताको बीचमा राखिएका उड्ने सिंहमध्ये दुई वटा मन्दिरलाई दिइएको छैन।
शिुल महादेव मन्दिरको ऐतिहासिकता
शिलु महादेव मन्दिर भक्तपुर दरबार परिसरको पूर्वी चोकको उत्तरमा छ। यसलाई नीलकण्ठेश्वर महादेव पनि भनिन्छ। गोसाईकुण्डको नामबाट यसलाई शिलु महादेव भनिएको हो। गोसाईकुण्डलाई नेवारी भाषामा ‘शिलु’ भनिन्छ।
राजा जगतप्रकाश मल्लको पालामा नेपाल संवत् ७९८ (विसं १७०७) मा यो मन्दिर बनेको हो। अर्थात्, मन्दिर ३७१ वर्ष पुरानो हो। यसका निर्माता राजा जगतप्रकाश मल्ल हुन्। ग्रन्थकुट भनिने शिखर शैलीका मन्दिरमध्ये यो सबैभन्दा अग्लो हो।
यो मन्दिर १९९० सालको भूकम्पले भत्काएको थियो। त्यसपछि पुनर्निर्माण हुँदा ग्रन्थकुट शैलीमा बनाइएन। त्यसयता अरु दुई–तीन पटक पुनर्निर्माण भए पनि उही डल्लो गुम्बज शैली अपनाइयो। फर्सीजस्तो डल्लो भएकाले स्थानीयले नेवारीमा ‘फसी देग’ (फर्सीजस्तो मन्दिर) नाम राखिदिए। वास्तवमा दक्ष कालिगढको अभावमा यो मन्दिरको शैली फेरेर विरूप बनाइएको थियो।
उड्ने सिंह धारामा गाडियो
१९९० सालको भूकम्पले मन्दिर भत्काएपछि उड्ने सिंह नराखिकन नै मन्दिर पुनर्निर्माण भएको थियो। यी सिंहलाई नगरपालिकाको पुरानो भवन पुनर्निर्माण हुँदा त्यसको ढोकाको दुईतिर राखियो। बाँकी दुई वटा सिंह भने गोलमढी टोलको गहिरो ढुंगेधारा मर्मत गर्दा धाराको दुइतिर गाडियो।
उड्ने सिंह धारामा पानी खस्ने ठाउँमा राखिँदैन। मन्दिरमा पनि भगवानको पहरेदारको रूपमा मन्दिरको ढोकाका दायाँ बायाँ र पेटीको तहमा राखिन्छ। सिंह राख्ने पनि पद्दति हुन्छ। तर, त्यति बेला ठाउँ नपाएर सुरक्षाको लागि धारामा राखिएको थियो। फाल्नुभन्दा कतै राख्नु उचित ठानेर स्थानीयले त्यसो गरेका थिए।
शिलु महादेवको मन्दिर पुनर्निर्माणपछि अहिले गोलमढी टोलका स्थानीयले ती सिंह मन्दिरलाई नै फिर्ता गर्न अस्वीकार गरिरहेका छन्। लामो समयसम्म ढुंगेधारामा राखिएको हुनाले स्थानीयले अब झिक्न नहुने तर्क गरेका छन्।
तर, गोलमढीको ढुंगेधाराछेवैबाट चोरिएका मूर्ति ४३ वर्षपछि अमेरिकाबाट फिर्ता हुने भएको छ। आफ्नै देशका मूर्ति फिर्ता गर्न विवाद भइरहँदा वीरभद्रेश्वर महादेव मन्दिरभित्रको पार्वतीको मूर्ति अमेरिकाको यल विश्वविद्यालयमा फेला परेको छ। उक्त मूर्ति नेपाल फर्काएर त्यही मन्दिरमा पुनर्स्थापना गरिने भएको छ।
अहिले शिलु महादेवको मन्दिर पुनर्निमाण समाप्त हुने चरणमा छ। यी दुई सिंह राखिने ठाउँमा भने प्वाल मात्र राखिएको छ।
वास्तवमा यी उड्ने सिंह भएकाले भुईंमा राखिँदैन। धारा, ढोका वा पेटीमा राखिने सिंहको बनावट नै फरक हुन्छ। उड्ने सिंह मन्दिरको बाहिरी भित्ताको बीच भागमा राखिन्छ। यसलाई नेवारीमा ‘बो सिंह’ भनिन्छ।
डिजाइनमै थिएन उड्ने सिंहको ठाउँ
२०७२ सालको भूकम्पले भत्काएको यो मन्दिर पुनर्निर्माणको लागि सुरुमा त निर्माण शैलीमा नै विवाद भयो। पछि पुरातत्व विभागले ग्रन्थकुट शैलीमा नै बनाउने निर्णय गर्यो। तर, डिजाइन हुँदा उड्ने सिंहका लागि ठाउँ राखिएन। ठेक्का दिएको पाँच वर्षपछि डिजाइन संसोधन गरेर यी सिंहका लागि ठाउँ राखियो।
पहिले यो मन्दिरमा इँटाको गारो मात्र थियो। अहिले भित्रपट्टि काठको फ्रेम राखेर भूकम्प प्रतिरोधी बनाइएको छ।
यो मन्दिरमा राखिने सिंह भक्तपुर नगरपालिकाले पहल गरेर फर्काउन सक्छ। तर, पुरातत्व विभागले पुनर्निर्माण गरेको हुनाले नगरपालिकाले सिंह फर्काउन पहल नगरेको धेरैको भनाइ छ। कतिपयले भने नगरपालिकाले गरिरहेको पुनर्निर्माणमा अवरोध गर्न उड्ने सिंह मन्दिर फर्काउन नदिइएको पनि आरोप लगाउने गरेका छन्। पुरातत्व विभागले भने प्रमुख जिल्ला अधिकारीलाई उड्ने सिंह फर्काइदिन पत्र लेखेको बुझिएको छ।
मन्दिरको प्रमाणले पुष्टि हुने मूर्ति साविक शिलु महादेव मन्दिरमा फिर्ता गराउनेतर्फ भक्तपुर नगरपालिका, संघीय सरकार, पुरातत्व विभाग र स्थानीयले समन्वय र सहजीकरण गर्नुपर्छ। जे मूर्ति जहाँ राखिनुपर्ने हो, त्यहीँ राख्दा नै सुन्दर र वास्तविक हुन्छ। यसरी जथाभावी राख्ने हो भने नेपालको सम्पदा समाप्त हुँदै जान्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।