काठमाडौं– वीरगञ्जको छपकैया–३ मा रहेको ताराचन्द किसन लाल आधारभूत विद्यालयलाई नवनिर्मित कक्षा कोठा हस्तान्तरण गरेको छ।
विद्यालयको भवनमा एक कार्यक्रमको आयोजना गरी राउण्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष आनन्द बाहेती नवनिर्मित सुविधा सम्पन्न ४ वटा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गरेका हुन्। यी ४ नवनिर्मित कक्षाकोठाबाट विद्यार्थी लाभान्वित हुने बताइएको छ।
चैत ६ गते आइतबार राउण्ड टेबल ८ का अध्यक्ष दिपल खन्ना र राउण्ड टेबल १३ का अध्यक्ष चिराग अग्रवालको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिगत तीन महिना पहिला विद्यालयमा २६ लाख बरावरको भौतिक पूर्वाधार निर्माण गर्ने आफूहरूको आयोजनाअन्तर्गत आज ४ वटा कक्षाकोठा र सोको लागि कुर्सी, टेबल, कालोपाटीसहित निर्माण गरी हस्तान्तरण गरिएको राउण्ड टेबल नेपालका सदस्यले बताए।
राउण्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्था हो जसले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ। अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ।
राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन्।
१८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रू एजुकेसन’सञ्चालन गरिरहेको छ। संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ।
राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ।
शिक्षा क्षेत्रसँगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ। खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चार देखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरूलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ।
त्यसैगरी, कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइन अन्तर्गत बिरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बराबरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।