आजकल प्रविधिको युगमा कोही पनि मोबाइल, कम्युटर, ल्यापटप, ट्याबजस्ता विद्युतीय उपकरणबाट पर बस्न सक्दैन। सबैसँग सबै उपकरण नहोला। मोबाइल त जीवनको एउटा पक्षजस्तै भइसकेको छ। बालबालिका, युवा, अधबैंशे वा वृद्धवृद्धा सबैका हातमा मोबाइल हुन्छ। तर, अभिभावकहरू बालबालिकाप्रति मात्र बढी चिन्तित भएको पाइन्छ।
अबको जीवन प्रविधिबिना जीवन असम्भवजस्तै छ। मैले हरेक दिन अस्पतालको ओपीडीमा सामना गर्ने प्रश्नहरूमध्ये पहिलो नम्बरमा आउने गर्छ– विद्युतीय उपकरणहरुको अध्यधिक प्रयोगले बालबालिकाका आँखामा के कस्ता असर पर्छन्? यसलाई रोकथाम गर्ने उपायहरु के–के हुन्?
यस्ता उपकरणका स्क्रिनले लगातार प्रकाश फ्याँकिरहेको हुन्छ। यी प्रकाशमा एकोहोरो हेर्नुपर्ने हुँदा आँखालाई बिस्तारै असहज हुँदै जान्छ। अनि समस्याको अनुभव हुनथाल्छ। त्यसकारण धेरैलाई यस्ता प्रश्न जाग्नु स्वाभाविक हो। लामो समय एकोहोरो मोबाइल, ल्यापटप, कम्युटर, ट्याबजस्ता विद्युतीय उपकरण हेर्दा निम्न समस्या आउँछन् :
१. कम्प्युटर भिजन सिन्ड्रोम
लामो समयसम्म एकनासले विद्युतीय उपकरण हेर्दा हाम्रो आँखाको प्राकृतिक रूपमा झिमझिम गर्ने प्रकृयामा ह्रास आउँछ। त्यसले गर्दा आँखामा थकान हुने, सुख्खा हुने, एउटा चीज÷बस्तुलाई हेर्दा दुई वटा देखिने, टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ, जसलाई हामीले कम्प्युटर भिजन सिन्ड्रोम भन्छौं।
२. आँखाको मांशपेसीको लचकता तथा दृष्टिमा ह्रास
विद्युतीय उपकरणहरुको अत्यधिक प्रयोगले बच्चाहरुको दुरदृष्टिमा समस्या हुन सक्छ। हाम्रो आँखाले नजिक हेर्दा कालो नानी भित्रतिर जाने र टाढा हेर्दा यो सामान्य सिधा अवस्थामा आउने हुनुपर्छ। विद्युतीय उपकरणको स्क्रिन अत्यधिक हेर्दा कालो नानी टाढा जाने प्रकृया ढिला हुँदै जान्छ। यसबाट डेढोपनासमेत आउन सक्छ। यो समस्या छोटो अवधिको हुन्छ र स्क्रिन हेर्ने समय कम गर्दा फेरि सामान्य अवस्थामा आउन सक्छ।
३. टाढा नदेख्ने समस्या
विद्युतीय उपकरणहरूको अत्यधिक प्रयोगले बच्चाहरूमा टाढा नदेख्ने समस्या पनि हुने सर्वेक्षणहरूले देखाएका छन्। कोरोना महामारीको बेलामा झण्डै एक डेढ वर्ष अनलाइन कक्षा हुनु र आँखा अस्पतालहरुमा यस्ता खालका बालबालिकाको अत्यधिक चाप हुनुले पनि यसको थप पुष्टि गर्छ। त्यसैले बच्चाहरूलाई घरबाट बाहिर निस्केर खेल्ने खेलहरूमा प्रोत्साहित गर्ने अभिभावकहरूको जिम्मेवारी हुन्छ।
बालबालिकालाई यस्ता समस्याबाट कसरी जोगाउने?
कम्प्युटर, मोबाइललगायत उपकरण आजको दुनियाँमा अपरिहार्य बस्तु बनिसकेका छन्। सम्पूर्ण शिक्षा प्रणाली नै कम्प्युटराइज्डड हुँदैछ। यसको प्रयोगमा रोक लगाउन सकिँदैन। यसरी रोक लगाए उनीहरूको व्यक्तित्व विकासमा नै रोक लाग्छ। त्यसैले स्क्रिनलाई सावधानीपूर्वक प्रयोग गर्नु बुद्धिमानी हुन्छ। अब हामी स्क्रिनलाई सावधानीपूर्वक चलाउनेबारे चर्चा गरौँ।
नियम-१ : २०-२०-२० सूत्र
विद्युतीय उपकरण प्रयोगकर्ताहरूले प्रत्येक २० मिनेट स्क्रिन हेरिसकेपछि २० फिट परको बस्तु २० सेकेण्डसम्म हेर्ने र २० पटक आँखा झिमझिम गर्ने। (यो नियम ठूलो मान्छेमा पनि लागू हुन्छ।) यसो गर्नाले आँखालाई सामान्य अवस्थामा आउन मद्दत गर्छ।
नियम-२ : बाहिर खेल्न प्रोत्साहन गर्ने
पढाइलगायत नियमित कामबाहेक अन्य बेला बालबालिकालाई यस्ता स्क्रिनबाट टाढा राख्ने। अभिभावकले हरेक दिन २ घण्टा बालबालिकालाई घरबाहिर खेल्न प्रोत्साहन गर्नुपर्छ। यसबाट बालबालिका साथीसँग भौतिक रूपमा पनि नजिकिन्छिन्।
स्क्रिनको आकार र दूरी
जति सानो विद्युतीय उपकरणको स्क्रिन भयो, त्यति नै त्यसमा आँखा केन्द्रित गर्न गाह्रो हुन्छ। बालवालिकालाई मोबाइल, ट्याबलेटभन्दा ल्यापटप, कम्प्युटरमा काम गर्न दिने, तर कति दूरीमा स्क्रिन राख्ने भन्ने प्रश्न पनि आउँछ। यसमा पनि हामीले १-२-१० नियम प्रयोग गर्नुपर्छ। अर्थात्, मोबाइल, ट्याब्लेट १ फुटभन्दा टाढा राख्ने। ल्यापटप, कम्प्युटर २ फुटभन्दा टाढा राख्ने। टेलिभिजन १० फुटभन्दा टाढा राख्ने।
यसबाहेक स्क्रिनको उज्यालो/चमक कम गर्ने र ब्लु फिल्टर प्रयोग गर्ने।
३. कति समयसम्म बालबालिकाहरूलाई स्क्रिन हेर्न दिने?
अमेरिकन एकेडेमी अफ पिडियाट्रिक अप्थालमोलोजीले दिएको सुझाव अनुसार निम्नअनुसार गर्न सकिन्छ।
क. १८ महिनाभन्दा मुनिका बालबालिकाललाई नदिने।
ख. १८ महिनामाथि र २ वर्षमुनिका बालबालिकाले आफ्ना अभिभावक र आफन्तजनसँग भिडियो गफ गर्न सक्छन्।
ग. २ वर्षमाथि र ५ वर्षसम्मका बालबालिकालाई अभिभावकले १ घण्टाभन्दा बढी मोबाइल, ट्याबलेट प्रयोग गर्न नदिने।
घ. ५ वर्षभन्दा माथि उमेर समूहकाले स्कुलको कामबाहेक २ घण्टाभन्दा बढी मोबाइल, ट्याबलेट, ल्यापटप प्रयोग नगर्ने।
सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन दिएको सुझाव अनुसार ८ वर्ष देखि १० वर्षसम्मका बालबालिकाले प्रतिदिन ६ घण्टा, ११ वर्षदेखि १४ वर्षसम्मकाले ९ घण्टा र १५ वर्षदेखि १८ वर्षसम्मकाले साढे ७ घण्टा हेर्न सक्छन्।
अभिभावकको दायित्व
१. प्रत्येक बच्चाको स्कुल जाने उमेरमा अनिवार्य रूपमा आँखा जाँच गर्ने।
२. अत्यधिक स्क्रिन प्रयोगले माथि भने जस्तै समस्याहरू हुने हुनाले आफ्ना बालबालिकालाई घरबाहिरका खेलहरु खेल्न प्रोत्साहन गर्ने।
३. गृहकार्य गराउँदा अभिभावकहरू आफैं मोबाइल फोनमा व्यस्त नहुने।
४. धेरैभन्दा धेरै समय आफ्ना बालबालिकासँग बिताउने, ता कि उनीहरूलाई विद्युतीय उपकरणहरुको जरुरत कम परोस्।
(बाल नेत्र विशेषज्ञ डा. भण्डारी गेटा आँखा अस्पताल, कैलालीमा कार्यरत छिन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।