काठमाडौं– धुलिखेलको हिमालयन मोटरल्यान्डमा तीन दिनसम्म फरक प्रकारको रौनकता देखियो। विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्र गतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो।
उक्त हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको छ। तीन दिनसम्म विभिन्न प्रकारको छनोट खेलपश्चात प्रतियोगिता सम्पन्न भएको हो।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने भने सुजन थापा मगर र महेश राना मगरले दोस्रो र तेस्रो स्थान हासिल गरे।
त्यसैगरी, २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भीम होनाले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे।
१५० सीसी अन्तर्गत १५० देखि १८० सीसीसम्म र २५० सीसी अन्तर्गत २०० देखि २२० सीसी सम्मका बाइक राइडर सहभागी थिए। १५० सीसीमा ४८ जना र २०० सीसीमा २४ जना प्रतियोगीले भाग लिएका थिए।
विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकारका साथै नासाका अन्य पदाधिकारीहरु आशिष लामिछाने र सन्तोष न्यौपानेका साथै विभिन्न कम्पनीका पदाधिकारीहरु र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिताको सह–प्रायोजक कवच राइडिङ गियर रहेको थियो भने अफिसियल पार्टनर डर्ट टेम्पल रहेको थियो। त्यसैगरी, लुब्रिकेन्ट पार्टनर भिडोल लुब्रिकेन्ट, टेक्निकल पार्टनर द इन्जिन्स, पर्फमेन्स हाउस र मोटो टेक नेपाल रहेका थिए। मेडिकल पार्टनर धुलिखेल हस्पिटल र नेपाल रेडक्रस सोसाइटी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।