काठमाडौं– चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण आजबाट सुरु हुँदै छ। नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतलाई भेट्ने कार्यक्रम रहेको छ।
नेपालले केही समयअघि अमेरिकी परियोजना एमसीसी संसदवाट पारित गरेपछि चिनियाँ पक्षको उच्च तहको भ्रमण हुन लागेको हो। भ्रमणका क्रममा नेपालसँग कम्तीमा १० वटा सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। विदेशमन्त्रीको भ्रमणमा पोखरा विमानस्थलको टर्मिनल भवन उद्घाटन गर्ने कार्यसूची पनि छ।
दूतावास र मन्त्रायलयले भने अहिलेसम्म वाङको भ्रमणको कार्यसूची र अजेण्डा भने सार्वजनिक गरेको छैन। त्यस्तै भ्रमणका क्रममा चीनले नेपाललाई दिने आर्थिक र अनुदान सहयोगको घोषणासमेत गर्ने तयारी गरेको स्रोतले बतायो।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार चीनले नेपाललाई वार्षिक अनुदान सहायता करिब १५ अर्ब रुपैयाँ घोषणा गर्ने तयारी गरेको छ। चीनले अहिले नेपाललाई वार्षिक करिब १३ अर्ब रुपैयाँ दिँदै आएको छ। यससम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र चिनियाँ उपमन्त्री तहका अधिकारीबीच हस्ताक्षर हुनेछ। उक्त अनुदान सहयोग नेपालको पूर्वाधार विकासका परियोजनामा खर्च गर्नुपर्नेछ।
त्यस्तै राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा घोषणा भएको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयनको विषय पनि यो भ्रमणमा छलफल हुने अजेण्डा रहेको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणमा केरुङ–रसुवागढी सीमापार रेलको विस्तृत सम्भाव्यताअन्तर्गत प्राविधिक पक्षबारे एक सहमति पत्रमा हस्ताक्षर हुनेछ। नेपाल र चीनबीच यसअघि सन् २०१९ मा रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।
अहिले हुने सहमति सम्भाव्यता अध्ययनकै विस्तारित रुप मात्र रहेको जनाइएको छ। पाँच वर्षदेखि चलिरहेको यो क्रम अव केही अघि बढ्ने गरी सम्झौता हुने ती अधिकारीले बताए। त्यस्तै चितवनको क्यान्सर अस्पतालसँग पनि सम्झौता हुनेछ। चीनले उक्त अस्पतालमा चिकित्सक पठाउने गरी सहमति गर्न लागेको छ।
त्यस्तै, कोरला नाका खोल्ने विषयमा पनि सम्झौता हुनेछ। मुस्ताङ जिल्लाको उक्त नाका नेपालका लागि लाभदायी हुनेछ। त्यस्तै भूकम्पपछि रोकिएको तातोपानी नाका विस्तार गरेर सञ्चालनबारे पनि सहमति गर्ने अजेण्ड नेपाल सरकारले पेश गर्ने तयारी गरेको छ। त्यस्तै, मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालन, रसुवा, पाँचखाल, पोखरा र नुवाकोटमा विशेष आर्थिक क्षेत्र निर्माणको विषयमा समेत सम्झौता हुने कार्यसूची रहेको छ। सिमानामा क्वारेन्टाइनको स्थापना र वीर अस्पतालको दुवाकोटमा स्तान्तरणका विषयमा पनि केही सम्झौता हुने मन्त्रालय स्रोतले जनाएको छ।
त्यस्तै नेपालले एमसीसीमा चिनियाँ चासोलाई सम्बोधन हुने गरी आश्वस्त पार्ने तयारी गरेको छ। चीनको सुरक्षा चासो र दुवै पक्षबाट उच्चस्तरीय भ्रमणका विषयमा पनि कुराकानी हुने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्। पुराना सम्झौताको कार्यान्वयन र अन्य मुद्दाहरुमा पनि छलफल हुने उनले बताइन्।
त्यस्तै बेल्ट एण्ड रोड अवधारणा (बिआरआई)लाई कार्यान्वयन बारेपनि केही सम्झौता हुनसक्ने सम्भावना रहेको मन्त्रालय स्रोतले रहेको छ। केही दिनअघि राष्ट्रपति भण्डारीले पनि बिआरआई अघि वढ्ने दावी गरेकी थिइन्।
उनले एक चिनियाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा उक्त कुरा गरेकी थिइन्। विदेशमन्त्री वाङ साँझ ६ बजे नेपाल आइपुग्ने कार्यक्रम छ। अहिले भारत भ्रमणमा रहेका उनले आज दिउँसो भारतीय समकक्षी एस जयशंकरसँग औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ। उनी भारतबाटै नेपाल भ्रमणका आउनेछन्। उनी आइतबारसम्म नेपाल भ्रमणमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।