काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आग्रह गरेका छन्।
सीमित स्थानबाट मात्र परीक्षण हुँदा रोजगारी र अध्ययनका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षणको पालो ढिलो आउने र त्यसले समस्या पर्ने गरेको भन्दै मन्त्री खतिवडाले त्यसलाई तत्काल दायरा बढाई सहज गराउन आग्रह गरेका हुन्।
नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँगको भेटमा मन्त्री खतिवडाले सो कुरामा जोड दिएका हुन्।
भेटमा दुई देशबीचको सन् १९६० देखिको कुटनीतिक सम्बन्ध, नेपाललाई अष्ट्रेलियाले स्वास्थ्य क्षेत्रमा गरेको सहयोग र आगामी दिनमा हुनसक्ने सहयोग आदानप्रदान तथा सहकार्यबारे छलफल भएको थियो।
छलफलमा मन्त्री खतिवडाले स्वास्थ्यका क्षेत्रमा अष्ट्रेलियाले नेपाल सरकारलाई गर्दै आएको सहयोगप्रति धन्यवाद प्रकट गरेका थिए।
भेटमा मन्त्री खतिवडाले नेपालबाट अध्ययन र रोजगारीका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण सीमित स्थानबाट मात्र हुँदा नेपालीले दुःख पाइरहेको भन्दै धेरै ठाँउबाट परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका थिए।
सो अवसरमा राजदूत भोल्कले उक्त गुनासो चाँडै सम्बोधन गर्ने आश्वासन दिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।