काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राजसंस्था छाडेको भन्दा पनि पूर्वराजा ज्ञानेन्द्र शाहाले नै आफूलाई छोडेको बताएका छन्। बिहिबार साँझ सामाजिक सञ्जालमा एक भिडियो सन्देशमा उनले शाहाले छाडेपछि आफूले पनि राजसंस्था पुनर्स्थापनाको अजेन्डा छोडेको बताए।
‘२०६२/६३को राजनैतिक परिवर्तनपछि देश गणतन्त्रमय भएको अवस्थामा म ज्यान हत्केलामा राखेर राजसंस्था पुनर्स्थापनाको लागि विगत १५ वर्षदेखि संघर्षरत रहेको थिएँ,’ उनले भनेका छन्,‘तर, संघर्षका क्रममा जनता र जनताबाट अनुमोदित राजनैतिक दलसँग सम्बन्ध सुधार गर्ने कुनै पनि किसिमको सकारात्मक प्रयास निर्मल निवास र राजाले नगरेपछि जनता र राजसंस्थाबीच दुरी बढ्दै गयो।’
थापाले शतप्रतिशत राजावादी रहेको दल राप्रपामा निर्मल निवासले नांगो हस्तक्षेप गरेर राजसंस्था साझा अभिभावक र निष्क्रिय भएर बस्न सक्दैन भन्ने सन्देश प्रवाहित गरेको पनि बताएका छन्।
त्यसैले अब लोकतन्त्र, हिन्दुराष्ट्र, सुशासन र समृद्धिको अजेन्डा बोकेर जनतासामू जानूबाहेक अर्को कुनै विकल्प नभएको उनको तर्क छ।
‘यो पृष्ठभूमिमा हामीले सोच्यौं कि अब लोकतन्त्र, हिन्दुराष्ट्र, सुशासन र समृद्धिको अजेन्डा बोकेर जानूबाहेक अर्को कुनै विकल्प छैन। राजसंस्थाप्रति विश्वास र आस्था हिजो पनि छ। त्यो सम्मान भोलि पनि रहनेछ। तर, अबको गन्तव्य लोकतन्त्र हिन्दूराष्ट्र र समृद्धि नै हुनेछ,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।