काठमाडौं– कलाकार पल शाहले नाबालिग गायिकामाथि गरेको भनिएको बलात्कार प्रकरणमा जिल्ला अदालत तनहुँले विभिन्न भ्लगर (युट्युबर) तथा सामाजिक सञ्जाल प्रयोकर्तालाई 'जथाभावी टिका–टिप्पणी' नगर्न भन्दै सचेत गराएको छ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएदेखि नै युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न टिप्पणी गर्दै आएका थिए। कतिपयले मुद्दाको अनुसन्धान नै प्रभावित पार्न खोजेको भन्दै प्रहरीले नियन्त्रणमा समेत लिएको थियो।
सोही विषयमा जिल्ला अदालत तनहुँले पनि आदेशमार्फत् सचेत गराएको छ। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजलासले बिहीबार जारी गरेको थुनछेक आदेशमा सामाजिक सञ्जालमा शाह र पीडित (नाबालिका)का विषयमा कुनै पनि टिप्पणी नगर्न भनेको छ।
आदेशमा भनिएको छ, '... प्रस्तुत मुद्दा यस अदालतमा विचाराधीन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेको हुनाले अनुसन्धान, अभियोजन एवम् न्यायिक काम कारबाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरुका परिवारजन समेत उपर अमर्यादित र अश्लील ढंगले टिका टिप्पणी नगरी दिनका निम्ति आमसञ्चार माध्यम, कानुन व्यवसायी र सर्वसाधारण सबैमा यो इजलास विनम्र अनुरोध गर्दछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।