काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भातृ संगठनमा एकपक्षीय ढंगले अध्यक्ष नियुक्त गरेको विषयमा डा शेखर कोइराल पक्षले शशक्त प्रतिवाद गर्ने भएको छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेको विषयमा बुधबार गरिएको छलफलमा समानान्तर नेतृत्वसमेत गठन गर्नुपर्नेसम्मका धारणा आएका छन्।
डा कोइरालाले नेविसंघ, तरुण दल, महिला संघलगायतका भातृ संगठनका केही पूर्व नेतासहित आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई उक्त निर्णयका विषयमा छलफलका लागि बोलाएका थिए।
छलफलमा आएकाहरुले संस्थापनपक्षको उक्त निर्णयविरुद्ध उत्रिनुपर्ने धारणा राखेका हुन्। डा कोइराला पक्षीय नेता मनोजमणी आचार्यले समानान्तर गतिविधि गर्ने धारणा आएपनि त्यहाँसम्म नपुगेर दबाबमूलक गतिविधि अघि बढाउने सल्लाह भएको बताए।
स्थानीय निर्वाचनको छेकमा भएको यो निर्णयबाट डा कोइराला पक्षका नेताहरुले देउवा एकपक्षीय रुपमा अघि बढ्न खोजेको रुपमा बुझेका छन्। आगामी निर्वाचनमा आफ्नो गुट र अनुकुललाई मात्रै टिकट दिन हदसम्म पुग्नसक्ने आशंका गरेका छन्।
आचार्यले भने, 'कांग्रेसका लागि योगदान गरेका नेताहरुले यो निर्णयपछि आफू असुरक्षित भएको महसुस गरेका छन्।'
पार्टीभित्र सहमति र सहकार्य गरेर भातृसंगठनको नेतृत्व दिने कार्यसम्पादन समितिको निर्णय भएपनि देउवाले थप सल्लाह नगरी आफू अनुकुलकालाई नेतृत्व दिएको डा कोइरालाको भनाइ थियो।
कांग्रेस नर्सरीका रुपमा बुझिने नेविसंघ र दोस्रो कांग्रेसका रुपमा रहेको तरुण दलमा नेतृत्व ल्याउँदा विधि र पद्धतिको अवलम्बन गर्नुपर्ने डा कोइराला पक्षको बुझाइ छ। 'उहाँ कांग्रेसको होइन, एउटा समूहको मात्रै सभापति भएजस्तो देखिएको साथीहरुले बताए,' बैठकमा सहभागी नेता आचार्यले भने।
स्थानीय तहको निर्वाचनअघि सवै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा एकलौटी गर्न खोजिएकाले प्रतिवाद दिनुपर्ने राय उपस्थित सबैले दिएका थिए। त्यहीअनुसार आगामी केन्द्रीय कमिटी बैठकमा यसलाई मुख्य अजेन्डाका रुपमा उक्त पक्षले प्रस्तुत गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।