काठमाडौं- काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालनमा आउने भएको छ।
असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि संचालनमा आउन लागेको हो।
बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालन हुने बताए। समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उनले बताए।
‘निर्माण सम्पन्न त गत असारमै भएको हो। अब यहाँ जुन सरोकारवाला निकाय छौँ हामी इन्टरमोडेल यातायात विकास समिति, भन्सार विभाग, क्वारेन्टीन भयो। अब हाम्रो तयारी सकिएको छ। चाडैँ उद्घाटन गरेर सञ्चालन गर्ने हिसाबले कामलाई तिव्रता दिइराखेका छौँ’ उनले भने।
यस सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने कार्यकारी निर्देशक गजुरेलले बताए।
भन्सार प्रक्रियाको सहजीकरण सुख्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उनले उल्लेख गरे।
‘अहिले हाम्रो जतिपनि सुख्खा बन्दरगाहहरु छन्, कि चीनको नाका कि भारतको नाकासँग हो। अहिले हामीले भारतको नाका जोडिएको बन्दरगाहहरुमा जुन आउँछ, काठमाडौं आउने सामान काठमाडौंमै ल्याएर भन्सार चेकजाँच गराउने, भन्सार पास गराउने र यहाँ त्यो सुविधा प्रदान गराउने भन्ने नै उद्देश्य हो। त्यस हिसाबले अहिले हामी भारतबाट आउने सामानहरु काठमाडौं सुख्खा बन्दरगाहमा आएर यहाँ भन्सार प्रक्रिया पूरा गरेर व्यापारी, व्यवसायीको सामानहरु कन्ज्युमर सम्म पुग्ने त्यो अवस्था त्यो सहजीकरण हुने भयो यसबाट’ उनले भने।
हाल विरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। सञ्चालन भइरहेका बन्दरगाहलाई पनि अझ प्रविधिमैत्री रुपमा अगाडी बढाउन काम गरिरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।