फाइल तस्बिर
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक हप्ता दिनपछि शुक्रबार सकिँदै छ। गत शनिबारदेखि सुरु भएको बैठकमा स्थानीय चुनावमा जाने मत बलियो हुँदै गएको छ।
पार्टी महासचिव विप्लवले राजनीतिक प्रतिवेदनमा स्थानीय चुनावमा भाग लिने प्रस्ताव गरेपछि अधिकांश नेताहरुले स्थानीय चुनाव उपयोग गर्नुपर्ने मत राखेको एक केन्द्रीय सदस्यले बताए। पार्टीका ६५ जना केन्द्रीय सदस्यसहित सल्लाहकारहरुले शुक्रबारसम्म आफ्नो धारणा राखेर विप्लवले जवाफ दिने भएका छन्।
‘अधिकाश केन्द्रीय सदस्यले स्थानीय चुनाव उपयोग गर्ने आशयका साथ धारणा राखेका छन्। कतिपय चुनाव बहिस्कार गर्नुपर्छ भन्ने मत छ,’ बैठकमा सहभागी ती केन्द्रीय सदस्यले भने, ‘बैठकमा शुक्रबारसम्म सबै केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेर सकिएपछि महासचिवले जवाफ दिने भनिएको छ। त्यसपछि पार्टीले जे निर्णय हुन्छ।त्यलाई कार्यन्वयन गरेर जान्छौ।’
पार्टी एक ढिक्का बनाएर स्थानीय चुनाव उपयोग गर्नेमा विप्लवको जोड रहेको ती केन्द्रीय सदस्यले बताए। ‘पार्टीमा विविध मत छन् ती सबै मतलाई केन्द्रीकृत गर्दै स्थानीय चुनाव उपयोग गर्नुपर्छ भन्ने महासचिवको विचार छ,’ ती केन्द्रीय सदस्यले भने, ‘उहाँ (विप्लव)ले कसरी सबैलाई कन्भिसन्स गरेर चुनाव उपयोग गर्ने वातावरण मिलाउनु हुन्छ। त्यसलाई सबैले पर्खेका छौं।’ स्थानीय चुनाव उपयोग गर्ने निर्णय भएमा माओवादीसहितका वामपन्थी शक्तिसँग तालमेल गरेर जाने बताएको छ। कांग्रेस र एमालेबाहेकका प्रगतिशील वामपन्थी शक्तिसँग सहकार्य गरेर चुनावमा जाने विप्लवको तयारी छ।
पार्टी बैठकमा सचिवालय सदस्य धमेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले फरक मत राखेका छन्। अहिलेको संसदीय व्यवस्थामा चुनाव उपयोग गरेर केही नहुने भन्दै प्रणाली फेर्न लाग्नुपर्ने भनाइ छ। त्यसका लागि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्ने उनीहरुको मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।