काठमाडौं– व्यवसायीहरुले उद्योग, कलकारखानामा मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन तत्काल विद्युत् नियमित गर्न निर्देशन दिएका छन्।
बुधबार दिउँसो अर्थ मन्त्रालयमा वीरगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारीसँगकोभेटमा व्यवसायीले मंगलबारदेखि उद्योगमा बिजुली कटौती भएको बताएका थिए। त्यसपछि अर्थमन्त्री शर्माले तत्कालै बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ति सहज गर्न निर्देशन दिएका हुन्।
उनले हाल देखिएको समस्या तत्काल सम्बोधन गरी उद्योग, कलकारखानामा उपलब्ध गराइरहेको बिजुली नियमित गर्न निर्देशन दिएका थिए। ‘अहिलेको जे समस्या हो, त्यसलाई चाँडो हल गरी उद्योगहरुमा मागअनुसार नियमित रुपमा बिजुली उपलब्ध गराउनुहोला,’ प्रबन्ध निर्देशक घिसिङलाई निर्देशन दिँदै अर्थमन्त्री शर्माले भने।
सो भेटमा बीरगञ्जका उद्योगी व्यवसायीले आफुले भोगिरहेको समस्या सुनाउँदै आगामी बजेट निर्माणमा सघाउ पुग्ने सुझावसमेत दिएका थिए। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताको नेतृत्वमा आएको टोलीले मंगलबारदेखि उद्योगमा लोडसेडिङ भएकाले समस्यामा परेको बताए।
त्यसैगरी, बैंकमा धरौटी राखेको पैसाको ब्याज आउने बातारणा मिलाइदिनुपर्ने, कृषि क्षेत्रमा तोकिएको सिमाअनुसार बैंकले कर्जा बितरण गर्नुपर्ने, सामाजिक सरक्षा कोषलाई संशोधन गरी उद्योगी र कर्मचारीमैत्री बनाउनुपर्ने, स्वास्थ्य–शिक्षासहित गाँँस, बास, कपासका उद्योगलाई आयकरमा छुट व्यवस्था हुनुपर्नेलगायत सुझाव दिएका थिए।
‘भन्सार मूल्यांकनमा थप सहजता चाहिन्छ । सेजमा स्थापना हुने उद्योगलाई निर्यातमा गरिएको प्रावधान केही खुकुलो बनाउने तथा आयकरमा विशेष सहुलियत हुनुपर्छ,’ अध्यक्ष गुप्ताको सुझाव थियो।
संघका महासचिव मनोजकुमार दासले भन्सार कार्यालयहरुमा कर बापत तिर्नुपर्ने रकम बुझाउँदा लामो समय लाग्ने गरेको गुनासो गरेका थिए। ‘कनेक्ट आइपिएसबाट पैसा पठाउँदा तुरुन्तै भुक्तानी हुन्छ तर भन्सारको प्रणालीमा पैसा पठाउँदा तीन घण्टा लाग्छ। यसलाई सरलीकरण गरिदिनुपर्यो,’ उनले भने।
महासचिव दासले यस्तो गुनासो गरेपछि अर्थमन्त्री शर्माले तत्कालै भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई फोन गरी समस्याबारे जानकारी लिई सफ्टवेयर प्रणालीमा छिटो सुधार गर्न निर्देशन दिएका थिए। मन्त्री शर्माले व्यवसायीलाई सम्बोधन गर्दै बजेटको पूर्वसन्ध्यामा दिइएको सुझावलाई कार्यान्वयन गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।