काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न नेपाली कांग्रेस एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित धनुषा जिल्लाको पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेता निधिले निर्वाचनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सामान्यरूपमा लिन आग्रह गरे।
नेता निधिले नेता कार्यकर्तालाई कांग्रेसलाई जिताउने अभियानमा सक्रिय भएर लाग्न आग्रह गरे। उनले स्थानीय निर्वाचनको टिकटका लागि नेता कहाँ नआइ वडामा जान नेता कार्यकतालाई आग्रह गरे।
पहिला जस्तो परिस्थिति अब नरहेकाले भन्दै निधिले टिकटका लागि आआफ्नो वडामा जान आग्रह गरेका हुन्। ‘नेता कहाँ धाएर हारगुहार गर्नुभन्दा विधानको पालना गर्दै आआफ्नो वडामा गएर आफूले गरेको कार्यको मूल्यांकन र निर्वाचन जित्नसक्ने क्षमताका आधारमा टिकट माग्नुस्,’ उनले भने।
धनुषाका नवनिर्वाचित पार्टी सभापति योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीलगायतले पार्टीको सम्पन्न महाधिवेशनबाट आएका परिणामलाई आन्तरिक कलह नबनाइ एकजुट भएर निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।