काठमाडौं- जबर्जस्ती करणी तथा लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन्।
जिल्ला बझाङ केदारस्यू गाउँपालिका– ५ बगडीस्थित आखेथर खेतमा गत ४ चैतको बेलुकी ६:१५ बजेको समयमा परिवर्तित सांकेतिक नामथर चैनपुर ११६ लाई जबर्जस्ती करणी गरी लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल प्रान्त माल्दा जिल्ला घर भइ हाल बझाङ बुंगल नगरपालिका अन्तर्गत रहेको कालङ्गा हाईड्रोपावरमा विजुलीको लाइन विस्तार गर्दै आएका २९ वर्षीय विजय राजवंशी र सोही स्थानमा बस्ने २२ वर्षीय सन्तान मुर्मु भन्ने सनातन मुर्मु रहेका छन्।
जबर्जस्ती करणी गरी सुनका गरगहनाहरु (नाकको नथीया, कानका रीङ, घाँटीमा लगाएको तिलहरी र मंगलसुत्र गरी कुल ३ तोला ४ आना) लुटपाट गरेर घटनास्थलबाट भागेर फरार भएको भन्ने जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरु दुवै जनालाई मंगलबार बेलुका केदारस्यू गाउँपालिका–५ बगडी एरियामा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको हो। बझाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।