काठमाडौं- नेकपा एमालेको बुधबारको बैठक सकिएको छ। काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बसेको बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन पेस भएको छ। साथै, रिपोर्टिङ पनि गरिएको छ।
बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उनले समसायिक विषयमा १५ पृष्ठको प्रतिवेदन पेस गरेका हुन्। उनले स्थानीय निर्वाचनमा एमालेले जित्ने १८ वटा आधार पनि प्रस्तुत गरेका छन्।
'भोलिको बैठकमा सो राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयहरुमा लिखित सुझाव र राय प्रस्तुत गर्नुहुन्छ। त्यसमा लामो छलफल गर्दैनौं। बाँकी ९ वटा अजेन्डामा भोलि छलफल गर्दै निष्कर्षमा पुग्छौं', प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने।
त्यस्तै, बैठकमा पार्टी हेडक्वार्टर, विभागहरु, जनसंगठनहरु र पार्टी केन्द्रीय निकायहरुको समष्टीगत रिपोर्ट महासचिव शंकर पोखरेलले प्रस्तुत गरेका थिए।
सातै वटा प्रदेशको तर्फबाट प्रदेश अध्यक्षले रिपोर्टिङ गरेका हुन्। प्रदेश १ बाट तुलसी न्यौपाने, मधेस प्रदेशबाट रामअवतार यादव, बागमती प्रदेशबाट केशव पाण्डे, गण्डकी प्रदेशबाट नवराज शर्मा, लुम्बिनी प्रदेशबाट राधाकृष्ण कँडेल, कर्णाली प्रदेशबाट विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेशबाट दामोदर भण्डारीले आफ्नो प्रदेशको रिपोर्टिङ प्रस्तुत गरेका हुन्।
एमाले प्रचार विभाग प्रमुख गुरुङले प्रदेशको संगठनात्मक राजनीति, शक्ति सन्तुलनको स्थिति, वडा अधिवेशन, पालिका अधिवेशन, जिल्ला अधिवेशन, जनवर्गीय संगठनको स्थिति, पार्टी प्रवेशको स्थिति, आजको स्थितिमा शक्ति सन्तुलनको स्थिति कस्तो छ भनेर रिपोर्ट पेस गरेको बताए।
आजको बैठकले छलफलका लागि ११ वटा अजेन्डा तय गरेको थियो। जसमा १. रिपोर्टिङ, २. राजनीतिक प्रतिवेदन, ३. विभागहरूको गठन, ४. स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, ५. घोषणापत्र तयारी, ६. पार्टीको बार्षिक क्यालेन्डरको तयारी, ७. पार्टी स्थापना दिवस, ८. निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, ९. सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन, १०. लेखा तथा आर्थिक व्यवस्थापन विनियम र ११. विविध छन्।
केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु हुनुअघि तीन केन्द्रीय कमिटीका सदस्यहरु मञ्जुदेवी गुरुङ (कास्की), तारादेवी गुरुङ (इलाम) र गोविन्द दुलाल (भक्तपुर)लाई अध्यक्ष ओलीले सपथ ग्रहण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।