काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले चुनावी गठबन्धनका सन्दर्भमा सत्ता पक्षसँग दुई/तीन चरणमा छलफल भइसकेको बताएका छन्।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को '१६औं वार्षिक साधारण सभा र सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन'मा बुधबार नेपालगन्जमा धारणा राख्दै उनले एमालेसँग भने कुनै संवाद नभएको प्रष्ट पारे।
'स्थानीय तहमा चुनावी गठबन्धनको आवश्यकता छैन किनकि गठबन्धनको राजनीतिले मुलुकमा अस्थिरता निम्त्याउँछ', उनले भने, 'तर, यदि सत्ता गठबन्धन जारी रहने हो भने लोसपासामु तीन विकल्प छन्- १. एक्लै चुनावमा भाग लिने,२. एमालेसँग चुनावी तालमेल गर्ने र ३. सत्ता गठबन्धनले हाम्रा राजनीतिक माग र मुद्दा पूरा गर्छन् भने सत्ता गठबन्धनसँगै तालमेल गर्ने।'
उनले निर्धारित समयमा स्थानीय तहको निर्वाचन हुने कुरामा अझै आशंकाहरु रहेको बताए। उनले स्थानीय तहको चुनाव निर्दलीय हुनुपर्ने बताएका थिए। स्थानीय सरकार एउटा विकासे इकाइ भएकाले निर्दलीय निर्वाचन हुनुपर्ने भए पनि कानुनी वयवस्था नरहेको उनको भनाइ छ।
उनले अहिलेको चुनाव एकदमै खर्चिलो बताए। त्यसैले निर्वाचन आयोगले या त चुनावी 'प्याटर्न' परिवर्तन गर्नुपर्ने, या सीमाभन्दा बढी चुनावी खर्च गर्नेलाई कारबाही गर्न सक्नुपर्ने बताए। स्थानीय चुनावलाई लक्षित गरेर लोसपाले अहिले प्रदेशस्तरीय प्रशिक्षणात्मक कार्यक्रम गरिरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।