काठमाडौं– कास्की जिल्ला अदालतमा ले तोडफोड भएको छ। मंगलबार राति ठूलो पानी परेको अवस्थामा 'चोर'ले अदालतको पछाडिपट्टीको ढोकाबाट प्रवेश गर्दै तोडफोड गरेका हुन्। जिल्ला अदालतको इजलास कक्षमा तोडफोडसहित चोरी भएको आशंका जिल्ला अदालतले गरेको छ।
चोरले रड प्रहार गरि इजलास नम्बर १ र ६ मा तोडफोड गरेको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए। ६ नम्बर इजलासको मिसिललगायतका कागजात रहेको दराज खोलेको भेटिएको छ भने एक नम्बरमा न्यायाधीशको कक्षमा तोडफोड गरेको पाइएको छ।
मिसिलसहितका कागजपत्रहरु आफ्नो ठाउँमा नरहेकाले चोरी भएको आशंका गरिएको छ। फाइलहरु सबै रहेको तर, फाइलभित्रका कागजातहरु चोरी गरेको हुनसक्ने आशंका जिल्ला अदालतले गरेको छ। २ तलामाथि रहेको ६ नम्बर इजलासमा फलामको छड प्रयोग गरेर ३ वटा ढोका फोडेको पाइएको पनेरुले बताए।
मिसिलबाट महत्त्वपूर्ण कागज छानेर झिकेको हुनसक्ने उनले बताए। इजलासबाट सामान हराएको हो वा होइन भन्ने विषयमा अहिले छानबिन भइरहेको पनेरुले जानकारी दिए।
बिहान अदालतमा सफाई गर्ने कर्मचारी आएपछि अदालतभित्र चोरी भएको सार्वजनिक भएको हो। ‘कम्युटर लगेको छैन। फाइल लगेको छैन’, उनले भने ‘भित्रको केही वा लिखत लगेको हुनसक्छ। रड बरामद गरिएको छ। फिङ्गर प्रिन्ट लिइएका छौं। बाँकी अनुसन्धान र परीक्षणबाट थाहा लाग्ला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।