नेपालगञ्ज- भारतको सिमलाबाट मजदुरी गरेर चाड मनाउन घर फर्कंदै गरेका नेपाली लुटिएका छन्।
सिमलाबाट हरिद्वार हुँदै नेपाल फर्किएका सल्यान स्यानी खोलाका रतन बुढाथोकी भारतको रामपुर भन्ने स्थान नजिकै लुटिएका हुन्। नशालु पदार्थ मिसाएको चिसो पेय पदार्थ खुवाएर लुटेराहरुले बेहोस बनाई ४४ हजार भारतीय रुपैयाँ लुटेका हुन्।
आफूमाथि लुटपाट भएपछि बुढाथोकी भारतको रुपैडियामा अर्धचेत अवस्थामा पुगेका थिए। सीमावर्ती क्षेत्रमा रहेको नेपालको जमुनाह प्रहरी चौकीले उनको उद्धार गरी उपचारका लागि नेपालगञ्जको भेरी अञ्चल अस्पताल पुर्याएको थियो।
एक वर्षको कमाइ लुटिएपछि बेखर्ची भएका बुढाथोकी उपचारपछि रित्तो हात घर फर्किएका छन्। यो वर्ष भारतमा नेपाली नागरिक लुटिएको यो पहिलो घटना हो। घटनाबारे नेपाल प्रहरीले भारतको सीमावर्ती क्षेत्रमा रहेका प्रहरीलाई जानकारी गराएको छ।
भारतका विभिन्न सहरका रोजगारीका जाने नेपालीहरु दशैंतिहार जस्ता चाडमा घर फर्कने गरेका छन्। पश्चिम नेपालको नेपालगञ्ज रुपैडिया सीमा नाकामा नेपाली कामदारको लस्करै लाग्ने गरेको छ। दशैं सुरु भएयता जमुनाहा नाका भएर दैनिक १ हजार ५ सयसम्म नेपाली कामदार घर फर्कने गरेका छन्।
उनीहरुलाई सीमा क्षेत्रमा चेकजाँचका नाममा दु:ख दिने, पैसा असुल्ने जस्ता काम हुन नदिन सीमा नाकामा हेल्प डेस्क स्थापना गरिएको छ।
गरिबी र बेरोजगारीका कारण पश्चिम नेपालका दाङ, रोल्पा, प्युठान, रोल्पा, रुकुम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र हुम्लाका हजारौं नेपाली युवा भारतमा कामको खोजीमा जाने गरेका छन्। अर्काको देशमा गएर कुल्ली तथा चौकीदार भएर काम गर्नुपर्ने बाध्यता रहेको जाजरकोटका केशरबहादुर शाहीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।