काठमाडौं– बलिउडको बहुप्रतिक्षित फिल्म एस एस राजमौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ २५ मार्चमा प्रदर्शन हुँदैछ। फिल्मको प्रचारप्रसारका लागि निर्माण पक्ष व्यापक रुपमा लागेका छन्।
यसबीच फिल्मका कलाकारले लिएको पारिश्रमिक बाहिरिएको छ। भारतीय सञ्चारमाध्यमले फिल्ममा अभिनय गर्ने राम चरण, जुनियर एनटिआर, अजय देवगण र आलिया भट्टको पारिश्रमिकको विषयमा लेखेका छन्।
फिल्ममा लिड रोलमा देखिएका अभिनेता राम चरणले ४५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ। फिल्ममा रामचरणले आन्द्र प्रदेशको एक स्वतन्त्र अधिकारकर्मी र भारतीय स्वतन्त्रताका लागि सामेल भएका अल्लुरी सिताराम राजुको भूमिकामा अभिनय गरेका छन्।
त्यस्तै, फिल्मका अर्का मुख्य कलाकार जुनियर एनटिआरले पनि ४५ करोड भारतीय रुपैयाँ बराबरको पारिश्रमिक लिएका छन्। फिल्ममा भारतको तेलंगना राज्यका एक आदिवासी अधिकारकर्मीको रुपमा एनटिआरको भूमिका रहेको छ।
त्यस्तै, फिल्ममा सिताको रुपमा देखिएकी आलिया भट्टले ९ करोड भारतीय रुपैयाँ बराबरको पारिश्रमिक लिएकी छिन्। त्यस्तै, अर्का अभिनेता अजय देवगणले फिल्ममा गरेको अभिनयका लागि २५ करोड भारतीय रुपैयाँ बराबरको पारिश्रमिक लिएका छन्। फिल्ममा उनी क्यामियो भूमिकामा देखिएका छन्।
त्यस्तै, भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका निर्देशक एसएस राजमौलीले फिल्मले गरेको आम्दानीमार्फत हुने नाफाले ३० प्रतिशत लिनेछन्।
५ सय ५० करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको फिल्म शुक्रबारबाट प्रदर्शन हुँदै छ। नेपालमा पनि प्रदर्शन हुने यो फिल्मलाई वितरक ‘ए ऐट फिल्मस्’ले ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।