काठमाडौं- ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन्। धनगढीमा आजदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएका हुन्।
पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो। आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सेटमा हराएको हो। यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ।
आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले नगद रु चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदीयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्बर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने बताइएको छ। प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई नगद एक हजार ५०० नगदसहित पुरस्कृत गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।