फाइल तस्बिर।
विराटनगर– नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले स्वतन्त्र र सक्षम न्यायालय, मर्यादित बार, संविधानको रक्षा र कार्यान्वयन नेपाल बार एसोसिएसनको प्रमुख दायित्व भएको दाबी गर्दै आगामी निर्वाचनमा आफू र आफ्नो समूह निर्वाचित भएमा यसका लागि अविचलित रहेन प्रतिवद्धता जनाएका छन्।
नेपाल बार एसोसिएसनले हाल सञ्चालन गर्दै आएको न्यायपालिकाको शुद्धीकरणको अजेण्डाको स्वामित्व लिँदै आफूहरु निर्वाचित भएमा प्रत्येक इकाईका कम्तीमा अध्यक्ष तथा सचिवको उपस्थितिमा एक सम्मेलन गरी आन्दोलनको स्वरुपमा निर्णय गर्न सकिने बताए।
प्रदेश–१ लक्षित चुनावी प्रचार प्रसार अभियानको अन्तिम दिन मोरङ जिल्ला अदालत बार एसोसिएसनद्वारा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता घिमिरेले लोकतन्त्र, बहुदलीय व्यवस्था र स्वतन्त्र न्यायपालिका नेपाल बार एसोसिएसनको सुरुदेखि नै अजेन्डा भएको बताउँदै उक्त अजेण्डाबाट पछि नहट्ने प्रतिवद्धता जनाए।
अधिवक्ता घिमिरेले राष्ट्रिय मुद्दाहरुमा नेपाल बार एसोसिएसनको धाराणा कस्तो हुनुपर्छ भन्ने कुरामा आफू प्रष्ट रहेको बताए।
नेपाल बार एसोसिएसनको वर्तमान सांगठनिक संरचनामा सुधार गर्दै प्रदेश संरचनालाई विस्तार गर्ने र इकाई बारहरुलाई थप सुदृढ बनाउन आफ्नो समूह प्रतिवद्ध रहेको घिमिरले उल्लेख गरे। यसका लागि खासगरी इकाई स्तरमा क्षमता अभिवृद्धि, भौतिक सुधार र नेटवर्क विस्तार प्रमुख आधार भएको उनको भनाइ छ।
आफ्नो समूहले नेतृत्वको अवसर पाएमा नेपाल बारलाई अन्तर्राष्ट्रियस्तरको बारका रुपमा स्थापित गर्न उच्च प्राथमिकता दिने उनको प्रतिवद्धता छ। यसका लागि अन्तर्राष्ट्रिय बार एसोसिएसन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा विदेशी बारहरूसँग सहकार्य गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।