काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तह निर्वाचनमा वाम गठबन्धन हुन नसक्ने बताएका छन्।
सोमबार बसेको पोलिटब्यूरो बैठकमा उनले स्थानीय आवश्यकता अनुसार जुनसुकै दलसँग पनि तालमेल हुन सक्ने तर वाम गठबन्धन मात्र बनाएर जाने भने नहुने बताए।
बैठकमा एमाले नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरुबीच नै गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेका थिए। उनले एमाले वाम एकताको मूलप्रवाह भएकाले यसका लागि पहल गर्नुपर्ने समेत उल्लेख गरेका थिए।
तर, घनश्यामको प्रस्तावमा जवाफ दिँदै ओलीले गठबन्धन भनेर वाम पार्टीसँग मात्र नहुने बताए। उनले जोसँग पनि चुनावी तालमेल हुनक्ने बताएको बैठकमा सहभागी नेता शेरबहादुर तामाङले बताए।
बैठकमा भुसालले वाम एकतामा जोड दिँदा तीन वटा पार्टी विभाजन हुनुको कुनै सैद्धान्तिक आधार नरहेको र आसन्न निर्वाचनमा वामपन्थीको जितलाई सुनिश्चित गर्न पनि एकता आवश्यक भएको उल्लेख गरेका थिए।
घनश्यामको प्रस्तावपछि बोलेका नेता महेश बस्नेतले भने विगतमा वाम एकता गरेर पछुताउनुपर्ने अवस्था आइसकेकाले त्यतातिर लाग्न नहुने बताएका थिए। बरु उनले देशमा दुई वटा मात्र पार्टी बनाएर जाने विषयमा सोच्नुपर्ने उल्लेख गरे।
'दुई दलीय व्यवस्था भयो भने वाम, प्रगतिशील पार्टीहरू एमालेको नेतृत्वमा गोलबन्द हुन्छन्। अर्को पक्षका पार्टीहरू कांग्रेससँग हुन्छन्। एकताको अभियान चलाउनै पर्दैन', बस्नेतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।