काठमाडौं- नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका वीरगञ्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।
अनौपचारिक रुपमा एमालेमा पुगिसकेका उनी केही औपचारिक कार्यक्रमसहित प्रवेश गर्ने तयारी गरिरहेका बेला मेयर विजय सरावगी एमाले प्रवेश गरेका थिए।
सरावगी एमाले प्रवेश गरेपछि सिंहले आफूले त्यहीँ बस्न नसक्ने भन्दै फेसबुकमार्फत् आमजनको धारणा मागेका थिए। जसपाबाट जितेका सरावगी एमाले भएपछि रिक्त स्थान उनले पूरा गरेका हुन्। गएको वीरगञ्ज महानगरपालिकाको निर्वाचनमा सरावगीले जित्दा राजेशमान तेस्रो नम्बरमा थिए।
राजपाबाट चुनाव लडेका उनी हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय थिए। उनलाई पार्टीमा स्वागत गर्दै जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आफूले मधेश आन्दोलन सँगै गरेको स्मरण गरे।
उनले भने, 'हिजोसम्म एउटैमा थियौं । फेरि एउटैमा छौं। यो भन्दा खुशीको कुरा के हुन्छ?' सिंहलाई पार्टीका अध्यक्षद्वय यादव र डा. बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।