रुकुम– आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाइने जानकारी दिएका हुन्।
‘आगामी आबको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकततामा राख्ने गरी छलफल अगाडि बढाएका छौं,’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषिक्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ।’
कुल बैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको जनाउँदै उनले आगामी आबदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए।प्रमुख सहरसँग ग्रामिण क्षेत्रको दूरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने उनले बताए।
जनतामा आधारित विकास मोडललाई समेत बजेटमार्फत कार्यान्वयन गर्ने उनले बताए। ‘जनताले विकासको अनुभूति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्नेछन्,’ उनले भने, ‘निर्माणकार्य गुणस्तरीय होस् भन्ने कुरामा उत्तिकै ध्यान दिइनेछ।’
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य वस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य शृङ्खलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको उनले बताए। यदपि, मूल्यवृद्धि वार्षिक लक्ष्यको वाञ्छित सीमाभित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको उनको भनाइ थियो।
शोधानान्तर घाटालाई बिस्तारै सुधार गर्दैै लगेको तथा तरलता अभाव केही दिनभित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र विस्तारै लयमा आउने विश्वास दिलाए। अहिले अबैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उनले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।