काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी अतिक्रमण अन्त्य गराउने वार्ता विफल भए 'तेस्रो विश्वयुद्ध' हुने बताएका छन्।
आइतबार सीएनएन टेलिभिजनसँग कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष कुरा गर्न आफू तयार रहेको बताए।
जारी लडाइँ अन्त्य गर्ने एउटै बाटो भनेको वार्ताहरू भएको कुरामा आफ्नो विश्वास रहेको पनि उनको भनाइ छ।
तर, रुससमर्थित पृथक्तावादीको पकडमा रहेका क्षेत्रहरूलाई स्वतन्त्र भएको मान्यतामा दिने कुनै पनि सम्झौतामा युक्रेनले सहमति जनाउन नसक्ने उनले स्पष्ट गरे। जेलेन्स्कीले युक्रेन उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य नभएका कारण युद्ध सुरु भएको बताएका छन्।
'नेटोका सदस्य राष्ट्रहरू हामीलाई आफ्नो गठबन्धनमा हेर्न तयार छन् भने त्यो तत्काल गर्नुपर्यो। किनकि हरेक दिन मानिसहरू मरिरहेका छन्' उनले भने।
यसअघि बिहीबार रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग सम्झौताका लागि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनमार्फत् टेलिफोन वार्ताका क्रममा आफ्ना मागहरू अघि सारेका थिए।
एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्।
उनका अनुसार शुरूका चारवटा रुसी माग पूरा गर्न युक्रेनलाई धेरै गाह्रो नहुन सक्छ। एउटा प्रमुख माग युक्रेन तटस्थ बस्नुपर्ने र नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि यो मागलाई स्वीकारिसकेका छन्। पहिलो भागका अरू धेरैजसो माग रुसले जितेको जस्तो देखाउने खालका रहेका बीबीसीले जनाएको छ।
युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्।
युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवं प्रभावको अन्त्य हुनुपर्ने माग छ।
यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए।
तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ। नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ। दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले प्रत्यक्ष वार्ता गर्नुपर्ने हुन्छ।
जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।दोस्रो भागका मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेनन्। उनले ती मागहरू पूर्वी युक्रेनको डोन्बास क्षेत्रसँग सम्बन्धित रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।