काठमाडौं– राजनीतिक दल स्थानीय तहको चुनावमा केन्द्रित छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि शीर्ष नेताहरु देश दौडाहामा छन्।
निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि पनि चुनावी दौड सुरु गरेको छ।
चुनावकै तयारी स्वरुप राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ। पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।
आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्ष सहसंयोजक रहेको समितिमा केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव छन्।
समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्ष, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्ष पनि छन्।
आमसभालाई प्रभावकारी बनाउन उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले बताए। उपाध्यक्षहरु ध्रुबबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको थियो।
पछिल्लो एक महिनामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले देश दौडाहा तिब्र पारेका छन्। फागुनबाट सुरु गरेको दौडाहामा उनले ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।