फाइल तस्बिर
काठमाडौं- संयुक्त राष्ट्र संघका शरणार्थीका लागि उच्च आयुक्तले रुस–युक्रेन युद्धका कारण हालसम्म युक्रेनबाट करिब एक करोड जनसंख्या विस्थापित भएको बताएका छन्। यो युक्रेनको कुल जनसंख्याको एक चौथाई हो।
रुसले आफ्नो छिमेकी राष्ट्र युक्रेनमा २४ फेब्रुअरीमा आक्रमण गरेको थियो। र, विगत २५ दिनदेखि युद्ध जारी रहेको छ।
यसैबीच, करिब ३५ लाख मानिसहरू देश छोड्न बाध्य भएका छन्। अन्य रुसी सेनाको आक्रमणबाट बच्न देशभित्रै सुरक्षित ठाउँमा बसाइ सरेका छन्।
राष्ट्रसंघका अनुसार रुसी सेनाले देशभित्रै मरियुपोल र सुमीजस्ता सहरलाई घेरा हालेका छन्। उक्त सहरमा फसेका मानिसको अवस्था निकै चिन्ताजनक रहेको राष्ट्रसंघले जनाएको छ।
एजेन्सीका अनुसार रुसी सेनाले आवासीय क्षेत्रलाई निशाना बनाएको छ, जसले हजारौं नागरिकको जीवनमा खतरा पैदा गरेको छ।
युक्रेनमा शनिबारसम्मको लडाइँमा कम्तिमा ९०२ सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघको मानवअधिकार कार्यालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघले वास्तविक मृत्युको संख्या धेरै हुन सक्ने बताएको छ। यता, युक्रेनका अभियोजक जनरलको कार्यालयले युद्धमा हालसम्म ११२ बालबालिका पनि मारिएको जनाएको छ।
हालसम्म २० लाखभन्दा बढी शरणार्थी युक्रेनको छिमेकी देश पोल्याण्ड पुगेका छन्। यता, रोमानियामा पाँच लाख मानिसले शरण लिएका छन्।
हंगेरीले करिब तीन लाख र मोल्डोभाले करिब तीन लाख ६० हजार युक्रेनी शरणार्थीलाई शरण दिएको छ। देश भित्र पनि ठूलो संख्यामा मानिसहरु विस्थापित भएका छन्।
युक्रेनमा १८ देखि ६० वर्ष बीचका पुरुषहरू अनिवार्य सेनामा भर्ना हुनुपर्ने छ। उनीहरुलाई देश छाड्न अनुमति दिइएको छैन।
यसैबीच बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफले हालसम्म १५ लाखभन्दा बढी बालबालिकाले देश छोडेको बताएको छ। युनिसेफले बालबालिकाको बेचबिखन र शोषणप्रति चिन्ता व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।