काठमाडौं– नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिम्मा–जमानीमा रिहा गरेको छ।
क्रिप्टोकरेन्सीको प्रचार गर्न तयार पारिएको विज्ञापनमा फोटो देखेपछि सीआईबीले कार्कीलाई सोधपुछका लागि बोलाएको थियो। अभिनेत्री कार्की आइतबार काठमाडौंको महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी थिइन्।
क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्बिर उल्लेख भएको विषयमा सोधपुछ गरिएको र सोधपुछपछि जिम्मा–जमानीमा छाडिएको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिए।
'क्रिप्टोकरेन्सीको प्रचार गर्न बनाइएको विज्ञापनमा उहाँ (कार्की)को तस्बिर प्रयोग भएको देखिएपछि हामीले सोधपुछका लागि बोलाएका थियौं,' डीआईजी सिंहले भने, 'त्यस सम्बन्धमा उहाँसँग सोधपुछ भएको छ। अनुसन्धान जारी रहेकाले फेरि हाजिर हुनेगरी अहिलेलाई जिम्मा जमानीमा छाडिएको छ।'
नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीको कारोबारको सन्दर्भमा अनुसन्धान जारी रहेको र त्यसमा संलग्नहरुमाथि छानबिन चलिरहेको डीआईजी सिंहको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।