काठमाडौं– भवन निर्माण सम्पन्न भएपश्चात अन्तिम बिल भुक्तानीका लागि ५ लाख रुपैयाँ घुस लिने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवाही गोनाहीका मेयर धर्मेन्द्र प्रसाद पटेलसहित उनका सहयोगी अशोक प्रसाद पटेलविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानीका लागि घुस मागेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो।
उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई गत फागुन १५ गते ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। अख्तियारले मेयर पटेलसहित उनका सहयोगीलाई समेत पक्राउ गरेको थियो।
घुससहित पक्राउ परेका दुवै जनाविरुद्ध आइतबार जनही ५ लाख रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना र अधिकतम १ वर्षसम्म कैद सजायको मागदाबी गरेर मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।