काठमाडौं– गत साताको अन्तिम दुई कारोबार दिन घटेको नेप्से यस साताको पहिलो कारोबार दिन पनि घटेको छ।
आइतबार नेप्से परिसूचक १४.६७ अंक घटेर २६१६.५८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।
आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २२४ स्टकको ३५ हजार २१२ पटकको कारोबारमा २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
राष्ट्र उत्थानको सेयरमूल्य यस दिन ५६ रुपैयाँ ९० पैसा बढेर ६२५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, इमर्जिङ नेपालको मूल्य ४७ रुपैयाँ २० पैसा बढेर ५१९ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।
यस दिन मैलुङ खोला जलविद्युत कम्पनी, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र विशाल बजार कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको यस दिन १६ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
आइतबार लगानी उपसमूहको परिसूचक बाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहको परिसूचक यस दिन १.६६ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।