इलाम– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई लक्षित गरेर एमालेले लगाइदिएका जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने धम्की दिएको भन्दै व्यंग्य गरेका छन्।
इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेबाट चुनाव जितेर अहिले सांसद र मेयरका रुपमा रहेको भन्दै यस्तो बताएका हुन्।
उनले भने, 'कम से कम एमालेले लगाइदिएको जुँगा खौरेर कुरा गर्नु नि! कम्युनिस्टकै बर्को ओढेका अन्तरे-जन्तरेहरुले नै कम्युनिस्ट सरकार ढाल्ने काम गरे। एमालेका कार्यकर्ताले खुन पसिना बगाएर रोजगारीका लागि नगएर खर्चिएको समयमा भोट मागेर चुनाव जितेका अन्तरे जन्तरेले राजीनामा गर्नु पर्दैन? अलग हुनु पर्दैन?'
एमालेले लगाइदिएको मेयर र सांसदको फुली बोकेर ठूला कुरा गरेको भन्दै ओलीले त्यसबाट अलग हुन चुनौती दिए। ओलीले थपे, 'विचार गर्नुहोस् त कति साह्रो लाज नभएका? एमालेको बाकस खाली गर्छु भन्ने? बाकस कसको खाली हुन्छ, आउँदो ३० गते थाहा हुन्छ।'
खनाललाई लक्षित गर्दै 'नुन र खुन बिर्सिने'लाई मुखभरिको जवाफ दिन पनि ओलीले नेता/कार्यकर्तालाई निर्देशन दिए।
खनालले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आउँदो निर्वाचनमा ओलीको बाकसमा जिरो भोट हालेर सजाय दिनुपर्ने बताएका थिए। समाजवादीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै खनालले भनेका थिए,'अब यो आउने निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो साजय पाउनुपर्छ। र, उनको बाकसमा जिरो मत पाउनु पर्छ, हेर्नुस्। तब मात्रै बास्तवमा नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।