काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन्। सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धरासायी बन्न लागेको बताएका छन्।
साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिना अगाडि नै खरिदमा लगानी गरेको तर, अहिलेसम्म पनि बजारमा सामान नआएकाले बैंकको ब्याज बढेर व्यवसायबाट भाग्नुपर्ने अवस्था आएको बताएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातमा शतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीहरुलाई मानसिक तनाब बढाएको बताए।
उनले मार्जिन लागू हुनुभन्दा अगाडि अर्डर गरेर ल्याएका सामान समेत विभिन्न बहानामा तीन महिनादेखि भन्सारमा नै रोकिएको बताए। कटुवालले सरकारले मार्जिन व्यवस्था लागू गर्नुभन्दा अगाडि अर्डर गरेर खरिद गरिएको समान आयातको विषयमा अध्ययनबिना नीति लागू गरेकाले अहिले व्यवसायीहरुलाई मर्का परेको दाबी गरे।
उनले अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने समानको अत्यधिक मूल्यवृद्धि भएको बताए। साना तथा मझौला व्यवसायीहरुको पहुँच नपुग्ने भएकाले सरकारले साना व्यवसायीहरुलाई उपेक्षा गरेको अध्यक्ष कटुवालले आरोप लगाए।
त्यस्तै, काठमाडौंको महाबौद्धमा कपडा व्यापार गर्ने व्यापारी झविन्द्र जीसीले तीन महिना अगाडि गर्मी महिनाको सामान खरिद गरेपनि अहिलेसम्म भन्सारबाट सामान नआएको बताए। उनले सरकारले सामान आयातमा ल्याएको शतप्रतिशत मार्जिनको नीतिले साना व्यवसायीलाई थप मारमा पारेको बताए।
सरकारको नीतिको कारण साना व्यापारी मर्कामा परेको अर्का व्यापारी कुलेन्द्र जीसीले बताए। उनले अर्डर गरिएका समान भन्सारबाट सहज रुपमा पाँच महिनासम्म नआउँदा व्यापार नै ठप्प रहेको बताए।
व्यापारीहरुले पाँच महिना अगाडि अर्डर गरेको समान समयमा नै नआउँदा व्यापार गर्न समेत नपाएको बताएका छन्। बैंक कर्जाको ब्याजदर वृद्धि, भाडा वृद्धि र सामानको मूल्य वृद्धिको कारण व्यापार गर्न नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।