काठमाडौं– गता साताको सोमबार (फागुन ३० गते) सेयर बजार खुलेको २ घन्टामै कारोबार रोकिएकोप्रति अर्थमन्त्रालयले चासो देखाएको छ। शनिबार अर्थमन्त्रालयमा भएको विकास समस्या समाधान समितिको बैठकमा सेयर कारोबार रोक्नु गम्भीर भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले तत्काल छानबिन गर्न निर्देशन दिएका हुन्।
‘केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्,’ उनले भने, ‘यो प्राविधिक विषय मात्र होइन जस्तो लाग्छ। यसले समग्र पुँजी बजारलाई नै असर गरेको छ।’
त्यस्तै राजस्व सचिव कृष्णहरि पुस्करले पनि सेयर बजार बन्द भएको बिषयमा जनताले दोषी थाहा पाउने गरी छानबिन गर्न निर्देशन दिएका छन्।
सोमबार १२ः५३ बजेदेखि नेप्सेको कारोबार रोकिएको थियो।
नेप्सेले ब्रोकर डाटा सेन्टरमा आएको समस्या आएको भन्दै समस्या समाधान भएपछि पुनः कारोबार समय थप गरेर कारोबार सञ्चालन गर्ने जनाएको थियो। तर, दिनभरमा पनि समस्या समाधान नभएको भन्दै बजार खुल्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।