सल्यान– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवाहरू टुंगो चैत महिनाभित्रै लगाइसक्ने बताएका छन्।
नेपाल प्रेस युनियन सल्यानले आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरुको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरिएको बताए।
'यसपटक विगतमा भएजस्तो उम्मेदवादी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन। निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ। चैत महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोसिस गर्छौं', महतले भने।
कार्यक्रममा कांग्रेस प्रवक्ता महतले स्थानीय तहको उम्मेदवारीको सामान्य मापदण्ड पनि सार्वजनिक गरे।
उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकोले जो उठाउँदा बढी मत आउँछ त्यसैलाई प्राथमिकता दिएर उम्मेदवारी तय गर्न उपयुक्त हुने बताए।
महतले फागुन २९ गतेदेखि सुरु भएको 'घरघर जाऔं, कांग्रेस जिताऔं अभियान'ले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउने आधार तयार गर्ने पनि उल्लेख गरे।
गठबन्धन आवश्यकताका अधारमा
कांग्रेस प्रवक्ता महतले आउने स्थानीय चुनावमा केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच गठबन्धन हुन्छ कि हुँदैन भन्ने बारेमा पनि धारणा राखे ।
उनले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा पनि यसको तय हुने तर गठबन्धन हुने/नहुने बारेमा यही ११ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले सिद्धान्त तय गर्न सक्ने बताए।
सबै दलको लक्ष्य निर्वाचनमा बढी सिट जित्ने हुने भएकोले के गर्दा बढी सिट जितिन्छ, त्यसै अनुरुप निर्णय हुने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।