काठमाडौं– गत साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेको थियो। अघिल्लो साता २५६६.७९ विन्दुमा बन्द भएको नेप्से, गत साता ६४.४६ अंक (२.५१ प्रतिशत) बढेर २६३१.२५ विन्दुमा बन्द भयो।
गत साता ४ कारोबार दिनमात्र बजार खुलेको थियो। जसमध्ये पहिलो कारोबार दिन नै नेप्से १०० अंकभन्दा बढीले बढेको थियो। गत साताको सोमबार भने ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि मध्याह्नपश्चात कारोबार हुन सकेको थिएन।
यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २७०५.९६ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा भने २५३५.४८ विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यद्यपि, यी दुई बीचको दूरी घट्दै गएको छ। यस साता नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेमा त्यसले बजार बढ्ने संकेत गर्दछ।
नेप्से बढेपनि गत साता भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औसतमा ३ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेप्सेको २० दिने औसत भोल्यूम ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ। नेप्सेको दैनिक औसत भोल्यूमको तुलनामा २० दिने औसत भोल्यूम ३.४१ प्रतिशत कम हो।
गत साता १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको थियो भने बाँकी ३ को घटेको थियो। गत साता अंकका आधारमा जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ हजार १२५.१७ अंक बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।